ad ad

राजनीति


सीमा सुरक्षार्थ दार्चुलाको छाङरुमा केही दिनभित्रै पुग्दै सशस्त्र बटालियन

सीमा सुरक्षार्थ दार्चुलाको छाङरुमा केही दिनभित्रै पुग्दै सशस्त्र बटालियन

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ६:२,

भारतले अतिक्रमण गरी सडक निर्माण गरेको दार्चुला क्षेत्रमा सरकारले तत्काल सशस्त्र प्रहरीकाे बटालियन राख्ने तयारी गरेको छ।

सोमबार बिहान बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनभित्रै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बटालियन राख्ने तयारी भइरहेको जानकारी दिएका हुन्।

माथिल्लो दार्चुलामा नेपालको उपस्थिति कम भएका कारण पनि सीमा समस्या भइरहेको उल्लेख गर्दै उनले त्यहाँ हेलिकप्टरबाट सुरक्षाकर्मी पठाउने तयारी गरिएको बताए। 

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रविण श्रेष्ठले पनि यसका लागि दार्चुलास्थित गुल्मलाई तत्काल व्यक्तिको घर भाडामा लिन निर्देशन दिइसकिएको जानकारी नेपालखबरलाई दिएका छन्। 

उनका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा २५ देखि ३५ जनासम्मको टोली पठाउन लागिएको हो। ‘मंगलबार नै टोली मुभ हुन सक्छ, ढिलोमा पनि १-२ दिनमा टोली त्यहाँ पुग्छ,’ डीआईजी श्रेष्ठले सोमबार बिहान नेपालखबरसँग भने।

बन्दोबस्तीका सामान तयारी गरेर सेनाको हेलिकोप्टरमार्फत टोली त्यहाँ पठाउन लागिएको हो। सरकारले गत मंसिरमै छाङरुङेमा बोर्डरआउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो। त्यतिबेला निर्णय भएका १ सय १४ बीओपीमध्ये १३ वटा मात्रै स्थापना भएका छन्। एउटा किमाथाङ्कामा र बाँकी १२ वटा तराईका जिल्लामा स्थापना भएका छन्।

चीनतर्फको सीमानामा ७ र बाँकी १ सय ७ वटा बीओपी भारतीय सीमानामा थप गर्ने निर्णय भएको छ। तर ६ महिना बितिसक्दा पनि सशस्त्रले बीओपी राख्न सकेको छैन। जग्गा नपाउनु नै मुख्य समस्या बनेको डीआईजी श्रेष्ठको भनाइ छ।

‘कतिपय ठाउँमा अहिले पनि भाडाका घरमा बसिरहेका छन्, कहीं सरकारी जग्गा प्राप्त भएको छ, जग्गा नहुँदा बीओपी स्थापना गर्न सकिएको छैन’, प्रवक्ता श्रेष्ठले भने।

दार्चुला सदरमुकामबाट त्यहाँ पुग्न एक साता लाग्ने भएकाले नेपाल प्रहरीले पनि सशस्त्रसँगै २५ जनाको टोली पठाउने भएको छ। दुईटा प्रहरी चौकीका लागि करिब २२ जनाको टोली त्यहाँ जान लागेको हो।

त्यस क्षेत्रमा चिसो बढेसँगै प्रहरी चौकी फर्किन्छन्। जब गर्मी सुरु हुन्छ पुनः प्रहरी टोली जाने गरेका थिए। सीमामा बिवाद बढेसँगै सशस्त्र पठाउने तयारी भएपछि नेपाल प्रहरीको टोली पनि यतिबेलै जान लागेको हो।

भारतले नेपालको १९ किलोमिटर भूमि हुँदै चीनसम्म जोड्ने सडक निर्माण गर्न थालेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .