राजनीति


झिम्रुकका ‘अब्बल अध्यक्ष’ तिलकलाई प्युठानमा जिताउन ९२ वर्षीय मोहनविक्रम नै मैदानमा

झिम्रुकका ‘अब्बल अध्यक्ष’ तिलकलाई प्युठानमा जिताउन ९२ वर्षीय मोहनविक्रम नै मैदानमा

विद्यानाथ अधिकारी
फागुन १२, २०८२ मंगलबार १९:५६, काठमाडौँ

चुनावमा मतदाता कस्तो उम्मेदवारलाई भोट हाल्न चाहन्छन्? उत्तर स्वभाविक छ– उम्मेदवार भ्रष्टाचार नगर्ने निष्कलंक होस्, काम गर्नसक्ने क्षमतावान् होस्। जनताको दुःखसुखमा साथ दिने अगुवा होस्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रचारका क्रममा प्युठानमा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता मतदातासँग यस्तै सवाल जवाफ गरिरहेका भेटिन्छन्। मतदाताले खोजेकै जस्तो उम्मेदवार आफ्नो पार्टीले अघि सारेको उनीहरूको दाबी छ।

जनमोर्चाले प्युठानमा यसपालि तिलक बहादुर जिसीलाई उम्मेदवार बनाएको छ। जिसी तत्कालीन बाङ्गेमरोड गाविसको अध्यक्ष थिए। पछि झिम्रुक गाउँपालिकाको अध्यक्ष बने। झिम्रुकको अध्यक्ष हुँदा जिसीले गरेका काम र देखाएको इमानदारीलाई आधार बनाएर जनमोर्चाले प्युठानमा मत तान्ने रणनीति बनाएको छ। र, चुनाव जित्ने दाबी गरिरहेको छ। 

झिम्रुक लुम्बिनी प्रदेशकै उत्कृष्ट
२०७४ सालमा झिम्रुक गाउँपालिकाको संस्थापक अध्यक्ष बनेका जिसीले गाउँपालिकालाई नमुना बनाउन सफल भए। जिसी अध्यक्ष निर्वाचित भएपछि गरेको कामका आधारमा सरकारको कार्यसम्पादन मूल्यांकनमा झिम्रुक लुम्बिनी प्रदेशमा उत्कृष्ट भएको थियो भने, नेपालभर सातौँ नम्बरमा परेको थियो।

झिम्रुकमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खेलकुद लगायत हरेक क्षेत्रमा योजनाबद्ध काम गरिएको र गाउँपालिकालाई नमुना बनाउन आफूहरूले पाँच वर्ष दिनरात मेहनत गरेको जिसी बताउँछन्। 

‘अरु पालिकाका अध्यक्ष, उपाध्यक्ष अध्ययन भ्रमण भन्दै कोही चीन गए, कोही दार्जिलिङ पुगे,’ जिसी भन्छन्, ‘घुम्न मन छ भने आफ्नै खर्चमा घुमौँ। सरकारले दिएको पैसा जनताकै काममा खर्च गरौँ भनेर साथीहरूलाई कन्भिन्स गरेँ। एकएक रुपैयाँ सदुपयोग गरेर काम गरेर देखायौँ। त्यतिबेलाको मेहनतले झिम्रुकलाई उत्कृष्ट बनायो।’ 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्ने विभिन्न आधार तयार गरेको छ। जसमा पुँजीगत खर्च ९८/९९ प्रतिशत भएको, राम्रो डेलिभरी दिएको, कार्यालयमा जनप्रतिनिधिको अत्यधिक उपस्थिति, छिटोछरितो सेवा, शून्य बेरुजु, पारदर्शी निर्णय प्रक्रिया जस्ता सूचकांकमा झिम्रुक उच्च अंकका साथ पास भएको जिसी बताउँछन्। 

आफू अध्यक्ष भएपछि झिम्रुकका ८ वटै वडाबाट बस सञ्चालन, सिँचाइका लागि ठाउँठाउँमा कुलोको व्यवस्था गरिएको उनले बताए। त्यस्तै, पालिकाका ११ सय घरबाट खरको छाना हटे, र टिनले चिटिक्क बने। उनकै पहलमा गाउँपालिकाको मुख्यमुख्य ठाउँमा ४३ रोपनीभन्दा बढी जग्गा स्थानीयले निशुल्क दिन तयार भए। अनि त्यो जग्गामा गाउँपालिकाको भव्य भवन बन्यो, ४ वटा वडा कार्यालय बने। १५ शय्याको अस्पताल भवन निर्माणको काम सुरु भयो र वडाहरूमा गाउँघर क्लिनिक बने। यस्तै, पलिकाको सबै घरमा बिजुली पुग्यो।

‘एउटा घर अलि पर जंगलको किनारमा छ, त्यसले गर्दा पालिकाका सबै घरमा बिजुली पुर्‍याउने हाम्रो योजना पूर्ण नहुने अवस्था आयो,’ जिसी भन्छन्, ‘त्यो घरमा सोलार जडान गरेर भए पनि हामीले पालिकाभर विद्युतीकरण गर्‍यौँ।’

जिसीले गाउँपालिकाभरका विद्यालयमा शिक्षक दरबन्दी थपेर माध्यमिक तहसम्मको शिक्षालाई व्यावहारिक रुपमै निशुल्क बनाउन पहल गरे। 

उनी भन्छन्, ‘पहिला निशुल्क शिक्षा भने पनि दरबन्दी अभाव थियो। विभिन्न नाममा विद्यालयहरूले अभिभावकबाट रकम लिएर स्कुल चलाउने अवस्था थियो। तर हामीले पालिकाका विद्यालयहरूमा ८२ वटा दरबन्दी थपेर शिक्षालाई निशुल्क बनायौँ। उच्च शिक्षाका लागि यहाँको गौमुखी क्याम्पसलाई २० लाख रुपैयाँ अनुदान दिन सुरु गर्‍यौँ।’

उनका अनुसार यही अवधिमा झिम्रुकको वरिपरिका डाँडाकाँडाबाट रिङरोड खन्न सुरु गरियो जहाँ अहिले ट्रयाक खुलिसकेको छ। र, सडक निर्माणाधीन छ। यसैगरी युवाहरूका लागि खेककुद मैदान निर्माण सुरु भयो। अहिले मैदान तयार छ भने अन्य भौतिक संरचना निर्माण गर्न बाँकी छ। 

कृषि क्षेत्रमा गरिएको काम अझ लाभदायक रहेको उनी बताउँछन्। किसानका उत्पादन लामो समयसम्म भण्डारण गर्न मिल्नेगरी चिस्यान केन्द्रको निर्माण सुरु भयो। किसानलाई तालिम दिने र भत्ता दिएर घर पठाउने प्रचलन अन्त्य गर्न उनले माटोमा खेल्ने वास्तविक किसानको पहिचान सुरु गरे। त्यसका लागि गाउँपालिकाले पाँच रोपनी जग्गा भाडामा लिएर विभिन्न जातका तरकारी तथा फलफूलका बिरुवा उत्पादन सुरु गर्‍यो, जहाँ तालिम लिएका किसानले आफ्नो सिपलाई व्यावहारिक रुपमा प्रयोग गरुन्। 

जिसी भन्छन्, ‘सुरुमा सरकारी निकायहरूबाट दिने तालिम र अनुदान वास्तविक किसानको हातमा पुग्दैनथ्यो। हलमा तालिम लिन आउँदा उनै मान्छे दोहोरिएर आउने र अनुदान पनि उनैले पाउने देखेपछि हामीले जग्गा भाडामा लिएर काम गर्न अनिवार्य बनायौँ। त्यसपछि माटोसँग खेल्ने वास्तविक किसान रहे। ठग किसान बाहिरिए।’ 

मसालको साख फर्काउने योजना 
प्युठान नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला हो। २०१० सालमा किसान आन्दोलनको नेतृत्व गरेर कम्युनिस्ट पार्टी स्थापना गरेदेखि नै सिंहले प्युठानलाई पार्टीको आधारभूमि बनाएका छन्। देशभर संगठन कमजोर भएको अवस्थामा समेत प्युठान र बागलुङको संगठन बचाएर त्यहीँबाट देशभर नेता कार्यकर्ता परिचालन गर्दै आएका छन्। 

२०१५ सालको पहिलो आम निर्वाचनमा सिंह प्युठानबाटै प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए। २०४८ सालयताका निर्वाचनमा मसालले थोरै जिल्लाबाट मात्रै संसदमा प्रतिनिधित्व गराउन सफल भएको छ, तीमध्ये प्युठान एक हो। २०४६ सालको जनआन्दोलन सफल भइसकेपछि मसालले संविधान सभाको माग गर्दै पहिलो आम निर्वाचन बहिष्कार गर्‍यो। २०४८ सालको चुनावमा भाग नलिएको मसालले २०५१ सालमा भने स्वतन्त्र उम्मेदवारी दिने निर्णय गर्‍यो। त्यतिबेला बागलुङ र प्युठानबाट एक/एक सिट जितेको थियो।

राष्ट्रिय जनमोर्चा गठन भएपछि २०५६ सालको आम निर्वाचनमा भने पाँच सिट जित्न सफल भयो। जसमध्ये दुई सिट प्युठानकै थिए। बाँकी दुई सिट बागलुङ र एक सिट अर्घाखाँचीबाट जितेको थियो। त्यसपछि २०७४ सालमा जनमोर्चाले पुनः प्युठानमा जित हासिल गर्‍यो। त्यतिबेला वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनाव जितेको जनमोर्चाले २०७९ सालमा गठबन्धन भए पनि जित्न सकेन। २०७४ सालमा जनमोर्चाबाट दुर्गा पौडेलले चुनाव जितेकी थिइन्।

पौडेल ०७९ सालमा उम्मेदवार दोहोरिँदा महामन्त्री सिंहले परिवारलाई प्रश्रय दिएको आरोप खेप्नुपर्‍यो। तर, नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत दलको गठबन्धनबाट उम्मेदवार बनेकी पौडेलले हार्नुमा गठबन्धनमै गडबडी भएको जनमोर्चाका नेताहरूको आरोप छ।

९२ वर्षीय मोहनविक्रम ‘फिल्ड’मा 
प्युठानको निर्वाचन मसाल महामन्त्री सिंहका लागि प्रतिष्ठाको विषय बनेको छ। आफैँले खडा गरेको संगठन र उनकै शब्दमा ‘कम्युनिस्ट विचारधाराको रक्षा’का लागि पनि प्युठानको चुनाव महत्त्वपूर्ण छ। देशभर ४१ जिल्लाका करिब ७० स्थानमा प्रत्यक्ष र समानुपातिकतर्फ वरिष्ठ नेता चित्रबहादुर केसीसहित ११० उम्मेदवार उठाएको मसालले बागलुङ र प्युठानमा जित्ने अपेक्षा राखेको छ। बागलुङ–१ मा नेपाली कम्युनिस्ट पार्टीले समेत सहयोग गरेको र चित्रबहादुर केसीको विरासत धानेको ठाउँ भएका कारण त्यहाँका उम्मेदवार कृष्ण अधिकारीले जित्नेमा सिंह अलि ढुक्क देखिन्छन्। 

तर, प्युठानमा गएको निर्वाचनमा गठबन्धन गर्दासमेत पाँच हजारभन्दा बढी मतअन्तरले पराजित हुनुपरेको र अहिले रास्वपाको समेत प्रभाव विस्तार हुँदै गएको अवस्थाका कारण सिंह सशंकित छन्। त्यसकारण उनी भोट माग्न प्युठानका डाँडाकाँडा चढिरहेका छन्। उमेरले ९ दशक पार गरिसके पनि उनी सक्रिय छन्।

यसपटकको चुनावमा ‘परिवारवाद’को आरोपबाट सिंह मुक्त छन्। स्थानीय तहमा सफल र निष्कलंक तिलक जिसीलाई अगाडि सारेर सिंह भोट माग्न व्यस्त छन्। ५९ वर्षीय जिसी सिंहका प्रियपात्र हुन्।

२०३६ सालदेखि अखिल (छैटौँ) बाट राजनीति सुरु गरेका उनी लामो समयसम्म पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघमा रहेर काम गरे। चुनावमा उम्मेदवार बन्नुअघिसम्म उनी नेकपा (मसाल) कै लुम्बिनी प्रदेश प्रवक्ता थिए।

आगामी निर्वाचनलाई प्युठानमा आफ्नो प्रतिष्ठाको विषय बनाएका सिंहले अहिलेसक्दो शक्ति यहीँ लगाइरहेका छन्। 

प्युठानमा यसअघि गठबन्धनलाई हराएर चुनाव जितेका नेकपा (एमाले)का सूर्य थापा फेरि दोहोरिने दाउमा छन्। उनी आफ्नो जित सुनिश्चित भएको दाबीसहित भोट माग्न व्यस्त छन्। 

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा गोविन्दराज पोखरेल पनि अहिलेको माहोल नबिग्रिए आफू विजयी हुने दाबी गरिरहेका छन्। 

‘अहिले प्युठानी जनताले पहिलाको जस्तो दल हेरेका छैनन्। व्यक्ति हेरेका छन्,’ पोखरेल भन्छन्, ‘अन्य दलका उम्मेदवारको तुलनामा जनताले मलाई नै सक्षम ठानेका छन्। त्यसकारण चुनावसम्म अहिलेकै अवस्था नबिग्रने हो भने मेरो जित निश्चित छ।’ 

यस्तै, रास्वपाका सुशान्त वैदिक र नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का पनि आफैँले जित्ने दाबी गर्छन्।

प्युठान र स्वर्गद्वारी नगरपालिका, गौमुखी, नौबहिनी, झिमरुक, मल्लरानी, ऐरावती, सरुमारानी र माण्डवी गाउँपालिका गरी ९ वटा स्थानीय तह र ६३ वडा रहेको प्युठानमा १ लाख ६१ हजार ६८० मतदाताले यिनै दल र उम्मेदवारको भाग्यको फैसला गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad