राजनीति


सिंगापुरको बैंकबाट सुनिल पौडेलको खाताको विवरण झिकाउन आदेश

सिंगापुरको बैंकबाट सुनिल पौडेलको खाताको विवरण झिकाउन आदेश

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १९:३७, काठमाडौँ

विशेष अदालत, काठमाडौँले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंकको खातामा रहेको विवरण झिकाउन आदेश दिएको छ। 

मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बैंक खाताको विवरण नेपाल राष्ट्र बैंकमार्फत झिकाउन आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी सुनिल पौडेलका नाममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण र सोमा भएको बचत रकमको विवरण नेपाल राष्ट्र बैंकबाट बैंकिङ प्रक्रियामार्फत सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट यथाशक्य छिटो झिउकान लगाई पेश गर्नू।’

त्यस्तै, विशेष अदालतले सिंगापुरसँग नेपालको हालसम्म पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता नभएकाले त्यस बमोजिमको विवरण सिंगापुरको बैंकबाट प्राप्त गर्न सकिने वा नसकिनेबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट जवाफ मगाउनू पनि भनेको छ। 

पौडेलले उपकरण खरिद गरी घुस रकम सिंगापुरको बैंकमा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यही मुद्दामा आज विशेष अदालतले सिंगापुरमा रहेको बैंक खाताको विवरण झिकाउन भनेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad