राजनीति


पूर्वमेयरको प्रवेशले काठमाडौँ-१० मा बाजी मार्न सकिने नेकपाको आकलन

पूर्वमेयरको प्रवेशले काठमाडौँ-१० मा बाजी मार्न सकिने नेकपाको आकलन

नेपालखबर
फागुन ११, २०८२ सोमबार १७:१, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको संघारमा एमालेबाट निर्वाचित कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। 

महर्जनको प्रवेशले काठमाडौँ क्षेत्र नम्बर १० मा नेकपाका नेता–कार्यकर्ता उत्साहित बनेका छन्। यो क्षेत्रमा नेकपा कमजोर अवस्थामा थियो। यही समयमा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेर सफल कार्यकाल पूरा गरेका महर्जनको आगमनले काठमाडौँ–१० मा नेकपालाई सुदृढ बनाएको नेता दिलीप महर्जनको भनाइ छ। 

एमालेमा ४२ वर्षको लामो राजनीतिक यात्रा तय गरेका महर्जनले ‘भुइँमान्छेको एजेन्डा’ बोक्ने दल भएकाले नेकपा रोजेको बताए। महर्जनको प्रवेशले नेकपा उम्मेदवार ४५ वर्षीया रूपा महर्जनको चुनावी अभियानलाई थप उर्जा प्रदान गरेको छ। ‘जनजातिको भावना र भुइँमान्छेको मुद्दा बोक्ने वास्तविक शक्ति नै नेकपा भएकाले म यस अभियानमा जोडिएको हुँ,’ महर्जनले नेपालखबरसँग भने। 

महर्जनको प्रवेशले कीर्तिपुरको स्थानीय राजनीतिमा ठूलो अर्थ राख्ने र नेकपालाई विजयको नजिक पु‍र्‍याउने नेकपाका नेता दीलिप महर्जनको भनाइ छ । ‘अहिले साथीहरूमा जुन उत्साह देखिएको छ, त्यसलाई चुनावी नतिजामा बदल्न हामी खटिएका छौँ,’ रमेशले थपे, ‘मेरो व्यक्तिगत मत र प्रभावको वास्तविक स्वरूप फागुन १५ गतेपछि स्पष्ट रूपमा देखिनेछ।’ 

नेकपाका नेताहरू महर्जनको पकडमा करिब ३ हजार मत रहेको आकलन गर्छन्। सोही मत नै काठमाडौँ–१० मा यसपटक निर्णायक हुन सक्ने उनीहरूको भनाइ छ। 

नेकपा प्रवेश गरेका महर्जनले रूपा महर्जनलाई जिताउन हिजोदेखि नै सक्रिय रूपमा लागिसकेको बताए। उनी आइतबार नेकपा प्रवेश गरेका हुन्। उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वामदेव गौतम लगायतले स्वागत गरेका थिए।

नेकपाले यो क्षेत्रमा उम्मेदवार बनाएपछि रूपा महर्जन अहिले तीव्र रूपमा घरदैलो अभियानमा व्यस्त लागेकी छन्। बेपत्ता परिवारको सदस्य र कीर्तिपुरकी रैथाने बासिन्दा भएकाले उनीप्रति मतदाताको सहानुभूति छँदै थियो, त्यसमा रमेश महर्जनको संगठनात्मक अनुभव र व्यक्तिगत साख थपिएपछि नेकपा नेताहरू जित्न सकिने बताउँछन्।

ऐतिहासिक रूपमा २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले यो क्षेत्रबाट जित हासिल गरेका थिए। तर, २०७० सालको चुनावमा उनी पराजित भए। त्यसपछि यो क्षेत्र वामपन्थी गढ रहेन।  लगातार तीन चुनाव कांग्रेसले जितेको थियो। 

यसपटक रमेश र रूपाको सहकार्यले पुरानो विरासत फर्काउने बलियो आधार तयार भएको नेकपाका नेता दिलीप बताउँछन्। अहिले कांग्रेसका हिमाल कार्की, एमालेका विनोद श्रेष्ठ र रास्वपाका प्रदीप विष्ट चुनावी मैदानमा छन्।

महर्जनको प्रवेशअघि चारै दलबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। तर अब यही रफ्तार कायम रहे रुपाको पक्षमा माहोल बन्नसक्ने र १२ वर्षपछि फेरि योे क्षेत्र जितिने उनीहरूको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad