राजनीति


एमालेसहितको बृहत् कम्युनिस्ट एकता हुन्छ: प्रचण्ड

एमालेसहितको बृहत् कम्युनिस्ट एकता हुन्छ:  प्रचण्ड

नेपालखबर
फागुन १०, २०८२ आइतबार १९:१४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल  प्रचण्ड ले मुलुकका छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृहत् एकताको आधार तयार भइरहेको बताएका छन्।

कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रूपमा २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकता राजनीतिक र कानुनी जटिलताका कारण भंग भएको थियो। उक्त एकताले दुई तिहाइको सरकार निर्माण गरे पनि आन्तरिक शक्ति संघर्ष र सर्वोच्च अदालतको फैसलापछि दुवै दल पुरानै अवस्थामा फर्किएका थिए। अहिले फेरि स्थानीय तहको निर्वाचन र राजनीतिक समीकरणको फेरबदलसँगै वामपन्थी दलहरूबीच सहकार्य र एकताको बहसले तीव्रता पाएको छ।

कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष नुच्छे महर्जनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले भने, “हामी राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यमार्फत देशको राजनीतिमा सकारात्मक सन्देश दिन चाहन्छौं। यो प्रक्रिया अन्ततः नेकपा एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा पुग्ने मेरो दह्रो विश्वास छ।”

पार्टी प्रवेश गर्ने पूर्वप्रमुख महर्जनले आगामी निर्वाचनमा कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार बनेकी रुपा महर्जनलाई जिताउन आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता जनाए। उनले एमाले परित्याग गरी नयाँ कम्युनिस्ट ध्रुवीकरणमा जोडिनु समयको माग भएको समेत उल्लेख गरे।

कार्यक्रममा नेकपाका नेता वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो। नेता गौतमले पनि कम्युनिस्ट एकै ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै यो प्रवेशले पार्टीको संगठन विस्तारमा थप ऊर्जा थपेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad