नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलको हावाहुरी थामिसकिएको टिप्पणी गरेका छन्।
शनिबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ दलहरू ‘क्षणिक हावाहुरी’ भएको जिकिर गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूलाई इंगित गर्दै प्रचण्डले ‘क्षणिक हावाहुरी’ धेरै दिन नटिक्ने बताए।
नयाँ दलहरूमा देखिएको आकर्षणलाई उनले सामान्य मौसमी प्रभावको रूपमा लिनुपर्ने बताए। ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। अहिले हुरी थामिइसकेको छ,’ प्रचण्डले भने, ‘मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो भनेर।’
यस्तो वेलामा नेकपा नै वास्तविक एक नम्बरको शक्ति भएको दाबी गरे। प्रतिनिधि सभाको निर्वाचनले त्यसलाई पुष्टि गर्ने उनको भनाइ थियो।
देशलाई नेतृत्व दिने शक्ति नेकपा मात्रै भएको प्रचण्डको जिकिर थियो। ‘देशलाई एकताबद्ध गर्न सक्ने, वैचारिक नेतृत्व दिन सक्ने र देशभक्त एवं क्रान्तिकारीहरूलाई गोलबन्द गर्न सक्ने एक मात्र शक्ति नेपाल कम्युनिष्ट पार्टी नै हो,’ नयाँ दललाई हावाहुरीको संज्ञा दिँदै प्रचण्डले थपे, ‘हावाहुरीको भ्रम अब चिरिइसकेको छ, जनता पुनः हाम्रै एजेन्डा र संगठनमा फर्किएका छन्।’
प्रतिनिधि सभाको निर्वाचन नजिकै आइसकेकाले दिनरात खटिनुपर्ने उनको भनाइ छ। नेता तथा कार्यकर्तालाई फिल्डमा खटिन निर्देशन दिँदै प्रचण्डले भने, ‘अबको १२ दिन युद्धस्तरमा खट्ने हो भने हामी देशको नम्बर एक पार्टी बन्न र नयाँ परिस्थिति निर्माण गर्न सफल हुनेछौँ।’
Shares

प्रतिक्रिया