राजनीति


सभामुखलाई साम्पाङको प्रश्न- प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउने आदेश कहिले दिनुहुन्छ?

सभामुखलाई साम्पाङको प्रश्न- प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाउने आदेश कहिले दिनुहुन्छ?

नेपालखबर
असार १, २०८३ सोमबार १२:४, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति हटाउनुपर्नेमा जोड दिएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाएका हुन्। प्रधानमन्त्री शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। 

‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो,’ साम्पाङले भने, ‘सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौँ।’

त्यस्तै, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको प्रति विरोध जनाएका छन्। माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्। देशभक्त युवालाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न साम्पाङले माग गरे। 

प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे। ‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने। 

पीडित चालकलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत उनले माग गरे। सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुङ्गा प्रहार गर्ने जस्ता उछृङ्खल गतिविधि भइरहेको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महसूस गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरे। 

प्रहरी देख्दा नागरिकले सुरक्षा र शान्तिको महसूस गर्ने वातावरण सिर्जना गर्न र लोकतन्त्रको ग्यारेन्टी गर्न सांसद साम्पाङले सरकारसँग जोडदार माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad