रास्वपाकी सांसद आशिका तामाङले नेपाल भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन्।
सोमबार संसद् बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र काँडेतार भने पनि लगाइयोस्’ उनले भनिन्, ‘कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता हो। यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।’
उनले सीमासम्बन्धी सबै सत्यतथ्य छानबिन गरी आवश्यक कुटनीतिक पहल गरी सीमा विवाद समाधानको काम अगाडि बढाउन पनि सरकारसँग माग गरिन्।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत नेपालका क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधिनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्। यसप्रति सरकारको ध्यान जाओस्,’ उनले भनिन्।
नवलपरासीको सुस्ताको समस्या धेरै समयदेखि भएको भन्दै उनले पछिल्लो समय सुस्तामा भारतीय सशस्त्र सीमा बलका गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याइएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्।
‘सुस्ताको घटनाको वास्तविकता के हो? सरकारले यसबारे के कस्ता कदम चालेको छ? आगामी रणनीति के छ भन्ने विषयमा जानकारी दिइयोस्,’ तामाङले भनिन्।
Shares

प्रतिक्रिया