नेपाली कांग्रेसका सभापति गगन थापाले अब प्रश्न गर्दा राज्यको गोलीले नमारिने नेपाल बनाउने बताएका छन्।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले युवाका आवाज सुन्ने नेपाल बनाउने बताएका हुन्। ‘प्रश्न गर्दा कुनै युवकले भाद्र २३ गते जस्तो गोलीले मारिनु पर्दैन। कसैले सिंहदरबार जलाउन जानु पर्दैन। त्यस्तो नेपाल बनाउँछौँ,’ थापाले भने।
अब देशको प्रधानमन्त्री कुनै पनि भ्रष्टाचारका काण्डमा नमुछिने बनाउने उनले प्रतिज्ञा गरे। ‘अब देशको प्रधानमन्त्री कुनै पनि काण्डमा नमुछिने प्रतिज्ञा गर्छौं,’ थापाले भने, ‘अब कसैले झुटो मुद्दाको सिकार हुनु पर्दैन। हातमा फाइल बोकेर काठमाडौँ धाउनुपर्दैन। त्यस्तो प्रतिज्ञा गर्न आएका छौँ।’
अबको १० वर्षमा सबै नेपालीलाई सम्मानपूर्वक बाँच्न सक्ने देश बनाउने उनको भनाइ थियो। ‘प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न सक्ने बनाउनेछौँ,’ थापाले भने, ‘विश्वसामु स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउनेछौँ। सम्मुन्नतिमा लम्किने नेपाल बनाउनेछौँ।’
कांग्रेसले जनकपुरधाम सभामा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।
प्रतिज्ञापत्रमा भनिएका कुरा पूरा गरेर छाड्ने उनले बताए। ‘राजा जनकको भूमिका घोषणा गर्न, बाचा गर्न आएको होइन, प्रतिज्ञा गर्न आएको हुँ,’ थापाले भने, ‘राजा जनकले जस्तै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्नेछैन।’
Shares

प्रतिक्रिया