नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गगन थापा प्रधानमन्त्री बन्ने गरी देशव्यापी रुपमा ‘मुभमेन्ट’ बढिरहेको जिकिर गरेका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपभासपति शर्माले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएकाले सभापति थापाको पक्षमा माहोल बनिरहेको बताएका हुन्। जेनजी आन्दोलनपछि कांग्रेस मात्रै बदलिएको उनको भनाइ थियो।
‘कुनै दल नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ,’ शर्माले भने, ‘यदि नागरिक पंक्तिले परिवर्तन खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ। जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ।’
विशेष महाधिवेशनबाट कांग्रेस बदलिएसँगै सभापति थापा प्रधानमन्त्री बन्ने गरी देशव्यापी माहोल बनिरहेको उनको जिकिर थियो। देशको प्रधानमन्त्री बन्नका लागि भिजन भएको व्यक्ति हुनुपर्नेमा उनले जोड दिए।
‘अहिले प्रधानमन्त्री पदको लागि कुनै व्यक्तिको व्यक्तित्व, कसको भिजनले, कसको बौद्धिकताले, कसको मुभमेन्टले नेपाली समाजमा सबैभन्दा बढी उद्वेलित गराइरहेको छ, प्रभाव पारिरहेको छ भने कांग्रेसका सभापति गगन थापा,’ शर्माले थपे, ‘अब गगन थापा प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी बढिरहेको अवस्था छ।’
उनले यसको उदाहरणका रुपमा पार्टी प्रवेशलाई देखाए। त्यस्तै, यसअघि कांग्रेस छोडेका पनि अहिले फर्किरहेको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया