नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताए। कम्युनिस्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उनको भनाइ थियो।
‘इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका यिनै योद्धाहरूका कारण इतिहास अगाडि बढ्यो। इतिहासले नयाँ–नयाँ मोड लियो र नयाँ कीर्तिमानहरू स्थापित भए,’ उनले भने, ‘२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि, त्यसमाथि प्रतिबन्ध लाग्दा पनि पार्टीलाई जीवन्त राख्ने प्रयास जारी रह्यो। त्यस क्रममा नरबहादुर कर्माचार्यलाई मजदूर आन्दोलनको जिम्मेवारी दिइएको थियो। उहाँले मजदूर आन्दोलनलाई अगाडि बढाउने जिम्मेवारी सम्हाल्नुभयो।’
आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको तर घोडाबाट लडेपछि जिउको धुलो टक्टक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिस्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
‘आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौँ जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ नेपाललेभ ने।
यस्तै, पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए। उनले जेनजी आन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे।
‘मैले पनि धेरै सामग्रीहरू सुरक्षित राख्ने गरेको थिएँ तर तीमध्ये धेरै जलाइए, केही बाँकी रहे। हाम्रो प्रचण्ड कमरेडसँग सम्बन्धित सामग्री त सबैजसो जलाइएछन्,’ उनले भने, ‘मेरो हकमा भने परिवारका सदस्य र छिमेकीहरूले ठूलो जोखिम मोलेर केही सामग्री जोगाइदिएका कारण अहिले पनि फेला परेका छन्। केही आधा जलेका छन्, केही पूर्ण रूपमा जलेका छन्, केही एक चौथाइ मात्र बाँकी छन्।’
नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविष्मरणीय रहेको बताए। विशेषगरी मजदूर आन्दोलनलाई उचाइमा पु¥याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गरे।
‘नरबहादुर कर्माचार्यसँग जोडिएका धेरै स्मृतिहरू र ऐतिहासिक सामग्रीहरू सम्भवतः यस प्रतिष्ठानले संकलन र प्रकाशन गरेको पनि होला। उहाँसँग सम्बन्धित अभिलेखहरू पनि सुरक्षित रूपमा राखिएका होलान,’ नेपालले भने, ‘मेरो आग्रह के हो भने इतिहासका ती महत्त्वपूर्ण घटनाक्रमहरू अवश्य पनि सुरक्षित राखिनुपर्छ।’
Shares

प्रतिक्रिया