सुदूरपश्चिमको कञ्चनपुर क्षेत्र नम्बर २ मा अहिलेसम्मको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ। किनकि २०४८ सालदेखि २०७९ सम्मको चुनावमा यस क्षेत्रमा कांग्रेसले चारपटक जित हासिल गरिसकेको छ।
वि.सं. २०४८ सालमा यस क्षेत्रमा कांग्रेसले जित्दा २०५१ मा एमाले विजयी भएको थियो। त्यस्तै, २०५६ सालमा फेरि कांग्रेसले नै जित निकाल्यो।
देशभर माओवादीको लहर छाउँदा २०६४ को चुनावमा यस क्षेत्रमा पनि नेकपा माओवादी अग्रस्थानमा आएको थियो। त्यस्तै, २०७४ मा भने एमालेले जितेको थियो। २०७९ मा पुन: कांग्रेसले जित निकाल्यो।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा पनि मुख्य पार्टीहरूबीच कडा प्रतिस्पर्धा हुँदैछ। कांग्रेसबाट पूर्वपरराष्ट्रमन्त्री एनपी साउद उम्मेदवार बनेका छन्। एमालेबाट बचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दीपक बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीर्थराज चटौत उठेका छन्।
यस निर्वाचन क्षेत्रमा १८ पुरुष उम्मेदवार उठ्दा एक मात्र महिला उम्मेदवार बनेकी छिन्। नागरिक उन्मुक्ति पार्टीले प्रेमवती रानालाई उम्मेदवार बनाएको हो।
यस्तै, संयुक्त नागरिक पार्टीका खड्क ताम्राकार, आजपाका जग्गु चौधरी, मितेरी पार्टी नेपालका तेजबहादुर बडवाल, प्रलोपाका धर्मानन्द जोशी, नाउपा नेपालकी प्रेमवती राना, उनेपाका योगेन्द्रबहादुर साउँद, जनमत पार्टीका रामचन्द्र भट्ट, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की, माओवादीका लोकेन्द्र बहादुर विक र नेमकिपाका सिताराम राना उम्मेदवार छन्।
वीरेन्द्र राना, भानुभक्त बोहरा, गिद्धराज जोशी र हरिश बहादुर भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कञ्चनपुर २ संसदीय निर्वाचन क्षेत्रमा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका १–७, ९ र १० वडाहरू समावेश छन्। यस क्षेत्रमा एक लाख नौ हजार ५७४ मतदाता छन्।
निरन्तर जित्ने कोसिसमा साउद
शेरबहादुर देउवा निकट साउद बलियो उम्मेदवारका हुन्। किनकि उनले यसअघि तीनपटक चुनाव जितिसकेका छन्।
२०५६ मा क्षेत्र नं १ बाट जितेका उनी क्षेत्र नं २ बाट २०७० र २०७९ मा विजयी भएका थिए। २०६४ सालदेखि यस क्षेत्रमा चुनाव लड्दै आएका उनी सो चुनावमा नेकपा माओवादीका देवीलाल चौधरीसँग हारेका थिए।
२०७० मा उनले एमालेका तारा लामा तामाङलाई हराउँदै जित निकाले। त्यसपछि २०७४ मा नरबहादुर धामीसँग पराजित भए। धामीले ३३ हजार २२० मत ल्याउँदा साउदले २४ हजार ८९३ मत ल्याएका थिए। समानुपातिकतर्फ कांग्रेसले १७ हजार ७०३ मत ल्याउँदै पहिलो बनेको थियो।
२०७९ मा साउदले धामीसँग अघिल्लो हारको बदला लिए। उनले २८ हजार १२६ मत ल्याउँदै नेकपा एमालेका नेता नरबहादुर धामीलाई पराजित गरे।
यसपटक साउद अघिल्लो जितलाई निरन्तरता दिने प्रयासमा छन्। चुनावी प्रचारका लागि वडा–वडामा पुगिरहेका उनले सकारात्मक माहोल बनेको सुनाए।
धेरै प्रतिद्वन्द्वी भए पनि जनताले फेरि आफूलाई जिताउनेमा उनी ढुक्क छन्।
‘हाम्रो पार्टीले मुलुकमा स्थायित्व, शान्ति र विकासलाई प्राथमिकतामा राखेको छ। मैले विगतमा गरेका विकासका प्रयासबाट जनतामा सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘प्रतिद्वन्द्वी पनि हुनुहुन्छ। तर जनताको माया, विश्वास र सद्भाव मलाई छ। त्यसकारण पटकपटक सेवा गर्ने मौका पाएको छु। यसपटक पनि जित्नेमा ढुक्क छु।’
साउद यसअघि परराष्ट्रमन्त्री, शिक्षा राज्यमन्त्री र सिँचाइ मन्त्री बनिसकेका छन्।
उनले यस क्षेत्रमा भूमि र लालपुर्जासम्बन्धी मुद्दा समाधान गर्ने वाचा गरेका छन्। यसअघि बारम्बार पहल गरे पनि केन्द्रबाट रोकिएको उनको दाबी छ।
‘लालपुर्जा वितरणको कुरा भूमि आयोगले गर्ने हो। यसका लागि जनशक्ति प्रदान गर्नेदेखि सहजीकरण गर्न स्थानीय निकाय सक्रिय छन्। सरकारमा फेरबदल भए पनि केन्द्रमा पटक–पटक पहल गरिएको छ। प्रक्रिया सुरु भइसकेको छ। जनता आश्वस्त छन्। तर लालपुर्जा वितरण सबै पार्टीको साझा प्रयत्नबाट हुने कुरा हो। यो जनजीविकाको प्रश्न भएकाले राजनीतिभन्दा पर राखेर समाधान गर्नुपर्छ,’ उनले भने।
साउदलाई चुनाव जितेपछि गाउँ नफर्किएको आरोप लाग्ने गर्छ। तर उनले गलत भाष्य निर्माण गरिएको बताउँदै यो आफूविरुद्धको प्रचार भएको सुनाए।
‘म दुई वर्षअघि निर्वाचित भएँ। बीचबीचमा आएँ। फेरि पनि आउँदै छु। चुनाव जितेपछि घरदैलो कार्यक्रम गर्न नसकिएको होला। तर जनताका कार्यक्रम, सार्वजनिक समारोह र सञ्चार गर्ने चाहनेहरूसँग सम्बोधन गरिरहेको छु। भेटेनन् वा आएनन् भन्ने कुरा प्रचार मात्र हो,’ उनले भने।
बालेनको आडमा चुनाव जित्ने दाउमा दीपक बोहरा
प्रधानमन्त्री बन्ने सर्तमा बालेन शाह रास्वपामा प्रवेश गरेपछि देशभर घण्टीको माहोल छ। पछिल्लो समय बालेन शाहले देश दौडाहा गरिरहेका छन्। केही दिनअघि मात्र उनी कञ्चनपुर पुगेका थिए।
यस क्षेत्रबाट रास्वपाका सचिवालय सदस्य दीपक बोहराले टिकट पाएका छन्। बोहरा सभापति रवि लामिछाने निकट मानिन्छन्।
चुनावी प्रचारका लागि जनताको घरदैलोमा पुगिरहेका उनले बालेनको भ्रमणपछि रास्वपाको माहोल बढेको बताए।
‘यो पटक जनताले अरू पार्टीलाई भोट हाल्दैनन्। यत्रो वर्ष मत दिऔँ। तर जितेर गएपछि फर्किंदैनन् भन्ने गुनासो छ। यसपालि भोट माग्न आउँदा लखेट्छौँ भन्नुहुन्छ,’ उनले भने, ‘बालेन गइसकेपछि झन् माहोल बनेको छ। उहाँ आउनुभयो भनेर खोज्दै धेरै जना आउनुभयो। स्वागत गर्दै आशा राख्नुभयो। हामीलाई तिनै क्षेत्रमा खोजिरहनु भएको छ। आउनुहोस्, तपाईं घण्टीवाला भन्दै हुनुहुन्छ।’
बोहराले आफ्नो मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण र सुशासन भएको बताए। लालपुर्जा वितरण यस क्षेत्रमा मुख्य समस्या भएको उनले बताए।
‘अन्य दलले लालपुर्जा दिन्छु भनेर सत्तामा पुगे। मैले थाहा पाएअनुसार ३० वटासम्म आयोग बनाए। अब हामी आउँदा आयोग बनाउन पर्दैन। अध्ययन कमिटी बनाएर सजिलै टुंग्याउन सकिन्छ। अरूले समस्यालाई भोट बैंकको रूपमा लिए। हाम्रो सरकार नेतृत्वमा गएर बालेन प्रधानमन्त्री बने भने समाधान गर्न सकिन्छ,’ उनले भने।
२०७९ मा यस क्षेत्रमा रास्वपा तेस्रो भएको थियो। त्यतिबेला झङ्कारराज जोशीले ४ हजार ९३७ मत पाएका थिए।
पहिलोपटक उम्मेदवार बनेका बोहरा यस क्षेत्रबाट चुनाव जित्नेमा ढुक्क छन्। उनको विश्वास छ, यसपटक देशभर रास्वपाले राम्रो सिट ल्याउनेछ।
पुरानो हार भुल्न खोज्दै बचनबहादुर सिंह
नेकपा एमालेबाट उठेका बचनबहादुर सिंह कृष्णपुर नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन्। राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष उनले २०७९ को चुनावमा यसै क्षेत्रबाट प्रदेश सभातर्फ लडेका थिए। १० हजार ४६५ मत ल्याएका उनी झिनो मतान्तरले हारेका थिए। उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका ओमविक्रम भाट १० हजार ९३८ मत ल्याउँदै विजय भएका थिए।
आफ्नो पार्टीले विभिन्न कमिटीमा तयारी गरिसकेको बताउँदै उनले घरदैलो कार्यक्रम गरिरहेको जानकारी दिए। अघिल्लो पटक झिनो मतले हारे पनि यसपटक जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे।
‘त्यो बेला म निकै कम मतले पराजित भएको छु। अधिकांशले मलाई जिताउँछु भन्नुभएको छ। दलाल र भ्रष्टाचारीहरू चुनावी मैदानमा छन्। तपाईंलाई हामी भूमिका दिने कुरामा प्रतिबद्ध छौँ भनेर सबैले भन्नुभएको छ। यो पटक म चुनाव जित्छु,’ उनले भने।
उनका अनुसार यस क्षेत्रमा सुकुम्बासी, लालपुर्जाविहीन जग्गा, आरक्षपीडित र नदीको कटान मुख्य समस्याका रूपमा रहेका छन्। त्यस्तै, शुक्लाफाँटा वन्यजन्तु आरक्ष पनि यसै क्षेत्रमा भएकाले जनावरले बालीनाली नष्ट गर्ने र वर्षैभर जिउधनको नोक्सानी गर्ने समस्या रहेको उनको भनाइ छ। यी समस्याहरू आफूले समाधान गर्ने अठोट रहेको उनले बताए।
त्यस्तै, यस क्षेत्रमा बेरोजगार भएर विदेश पलायन भएका युवालाई गाउँमा फर्काउने वातावरण बनाउनुका साथै शिक्षा र सुविधासम्पन्न अस्पताल निर्माण गर्नेतर्फ ध्यान दिने उनले सुनाए।
‘वर्षौँदेखि यस क्षेत्रमा हजुरबा त्यही घर र जमिनमा बस्नुभयो। बुवा बस्नुभयो। अब छोरा पनि उपभोग गरिरहेको छ। नाति समेत भइसकेको छ। तर, उसले आफ्नो पुर्जा पाउन सकिरहेको छैन। न धितो राखेर केही गर्न सक्छ। भूमिको मालिक बनाउने आवाससहितको व्यवस्था गर्नेतर्फ लाग्छु। रोजगारी सिर्जना गर्न १६ देखि ४० वर्षमुनिका युवालाई यतै काम गराउन सकिन्छ। युवाहरूको देश र माटोप्रति जुन नकारात्मक सन्देश सम्प्रेषण भइरहेको छ, त्यसलाई कसरी स्पष्ट बनाउन सकिन्छ भन्ने मेरो पहिलो प्राथमिकता छ,’ उनले भने।
जेनजी आन्दोलनपछि देखिएको युवा अनुहार
शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुर स्थायी घर भएका माधवप्रसाद पन्त युवा नेता हुन्। जेनजी आन्दोलनपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३८ वर्षीय पन्तलाई कञ्चनपुर क्षेत्र नं २ मा उम्मेदवार बनाएको हो।
हाल कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएचडी) गरिरहेका पन्त क्रान्तिकारी तथा अध्ययनशील नेताका रूपमा हेरिन्छन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एलएलबी गरेका छन्। यतिखेर पन्त चुनाव प्रचारप्रसारमा राजनीतिक र शैक्षिक ज्ञान भएकाले आफू यस क्षेत्रको लागि उपयुक्त उम्मेदवार भएको उनको दाबी छ।
‘जनताले कुरा सुन्ने प्रतिनिधि खोजेका छन्। मबाट जनताले काम चाहेका छन्। यो नीतिनिर्माण गर्ने ठाउँ भएकाले अध्ययनको सिलसिलामा मैले कानुनदेखि राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध विषय पढाउँछु पनि,’ उनले भने, ‘म एउटा युवा उम्मेदवार हुँ। जेनजी आन्दोलनपछि मुलुकले युवा नेतृत्व खोजिरहेको छ। त्यो युवा नेतृत्व माधव पन्त हो भन्ने आम जनतामा पुगेको छ। म जनताको सरल पहुँचमा छु। जुन पालिका र वडामा गए पनि तपाईंलाई हामी भोट दिन्छौँ र जिताउँछौँ भनिरहेका छन्। म पक्का जित्छु।’
२०६२/०६३ ताका युवा आन्दोलनमा सहभागी भएका पन्त जेल समेत परेका थिए। कञ्चनपुरबाट नै विद्यार्थी राजनीतिमा होमिएका उनी २०६५ मा अनेरास्ववियु कञ्चनपुरका जिल्ला अध्यक्ष बनेका थिए। पन्त नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका सह–इन्चार्ज समेत बनेका थिए।
भ्रष्टाचारविरुद्ध पैरवी र वकालत गर्दै आएका उनले अब समाज समृद्ध र रूपान्तरण गर्ने मुख्य एजेन्डा रहेको बताए। स्थानीय स्रोतसाधनको उपयोग गर्दै वैदेशिक रोजगारको क्रमलाई कम गर्ने प्रयास आफूले गर्ने उनको भनाइ छ।
‘म पहिल्यैदेखि समाजसेवामा लागेको व्यक्ति हुँ। न्यायको पक्षमा आवाज उठाउने भएकाले यो क्षेत्रका जनताले स्थानीय रूपमा माधव पन्त नै ठीक छ भन्ने हिसाबले भोट दिन खोजिरहेका छन्। यस क्षेत्रमा भूमि, लालपुर्जा, आरक्ष र तटबन्धसम्बन्धी समस्या मुख्य समस्याका रूपमा रहेका छन्। यहाँका जनतालाई सुरक्षित महसुस गराउनका लागि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकता पूरा गर्न सधैँ पहल रहन्छ,’ उनले भने।
यो पनि:
सांसद नदोहोर्याउने कञ्चनपुर-१ मा दोहोरिने दाउमा तारा लामा र विना मगर
कञ्चनपुर ३ : रमेश लेखकले टिकट नपाउँदा कांग्रेस गढ जोगाउन बोहरालाई सकस
Shares

प्रतिक्रिया