राजनीति


जापानी लगानीकर्तालाई नेपालमा आमन्त्रण गर्न चाहन्छौँ: राष्ट्रपति पौडेल

जापानी लगानीकर्तालाई नेपालमा आमन्त्रण गर्न चाहन्छौँ: राष्ट्रपति पौडेल

नेपालखबर
माघ १९, २०८२ सोमबार १५:५०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन्। 

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन सोमबार टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक मुद्दारूलाई निष्कर्षमा पुर्‍याएपश्चात् नेपालको प्राथमिकता अब द्रुत सामाजिक-आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताए।

‘नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ, हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न चाहन्छौं,’ राष्ट्रपति पौडेलले भने। 

नेपला र जापानको द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै नभई जनता-जनताबीचको सम्पर्कलाई समेत समेटेको बताए। यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत् थप सुदृढ हुँदै गएको उनको भनाइ थियो। 

‘नेपाल र जापानबीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौँ,’ उनले भने। 

उनले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताए। यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्त्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उल्लेख गरे। ‘त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर-आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौँ,’ उनले भने। 

नेपाल जापानीहरूको मन पर्ने पर्यटकीय गन्तव्य रहेकोमा उनले प्रसन्नता व्यक्त गरे। राष्ट्रपति पौडेलले भने, ‘साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ।’

जापान नेपाली युवा र विद्यार्थीको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उनले आभार प्रकट गरे। ‘हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौँ। सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ,’ उनले भने। 

कार्यक्रममा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad