सुदूरपश्चिम


कञ्चनपुर ३ : रमेश लेखकले टिकट नपाउँदा कांग्रेस गढ जोगाउन बोहरालाई सकस

दोस्रो जितको खोजीमा दीपक, ३१ वर्षपछि मैदानमा फर्केका मानबहादुर
कञ्चनपुर ३ : रमेश लेखकले टिकट नपाउँदा कांग्रेस गढ जोगाउन बोहरालाई सकस

गोकुल जोशी
माघ १५, २०८२ बिहिबार २०:२०, कञ्चनपुर

चार पटक सांसद निर्वाचित भएको कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवार छैनन्। 

गृह मन्त्रालयको नेतृत्व सम्हालिरहेको अवस्थामा २३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ७६ युवाको मृत्यु भएपछि लेखक आलोचित बने।  

यहीबीच कांग्रेसमा विशेष महाधिवेशनबाट सभापतिबाट शेरबहादुर देउवा विस्थापित भएपछि उनका विश्वासपात्र मानिने लेखक निर्वाचनमा टिकटविहीन भए। 

कांग्रेस सभापति गगन थापाले लेखकको क्षेत्र कञ्चनपुर ३ मा टिकट हरिप्रसाद बोहरालाई दिए। लेखकको टिकट खोसिएपछि आक्रोशित बनेका लेखकका समर्थकले उम्मेदवारी दर्ताको दिन सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला नै जलाए।

स्थानहद फुकुवापछि पूर्वगृहमन्त्री लेखक सोमबार बेलुका महेन्द्रनगर पुगेका छन्। उनी अहिले घरमै कार्यकर्ता भेटघाट गरेर बोहराको पक्षमा माहोल बनाउन व्यस्त छन्। 

कार्यकर्तासँग भेटघाट गर्दै अवस्थाको जानकारी लिएर कांग्रेसलाई जिताउन लाग्नु पर्ने बताइरहेका छन्। 

‘अहिले पार्टीका नेताकार्यकर्तालाई घरमै भेटघाट गरिरहनुभएको छ। बरखीमा हुनाले पनि बाहिर जानुजस्तो छैन,’ उनी निकट एक नेताले भने, ‘केहीदिनमा पार्टीले कार्यक्रम बनाएपछि त्यसैअनुसार जनता भेट्न जानुहुन्छ।’

केही दिन अझै लेखक महेन्द्रनगरमै बस्ने कार्यक्रम छ। कांग्रेसको पक्षमा माहोल बनाउन लेखक निर्वाचन क्षेत्र डुल्ने तयारीमा छन्। 

‘अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर भएको छ, लोकतन्त्र जोखिममा छ,’ महेन्द्रनगर पुगेको दिन लेखकले भनेका थिए, ‘यस्तो बेलामा सबै साथीहरू मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ।’

टिकट खोसिएपछि रुष्ट पार्टी पङ्क्तिलाई लेखकले सम्झाएपछि माहोल सकरात्मक बन्दै गएको नेताहरूको दाबी छ। 

विरासत जोगाउँदै संसद छिर्ने प्रयासमा कांग्रेसका बोहरा
स्वच्छ र निस्कलंक छवि बनाएका हरिप्रसाद बोहरालाई कांग्रेसले कञ्चनपुर ३ को चुनावी मैदानमा उतारेको छ। 

उनी पहिलो पटक प्रत्यक्ष चुनाव भिड्न लागेका हुन्। ०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय उनी ०४३ मा नेपाल विद्यार्थी संघको संगठित सदस्य बने।

०४६ को आन्दोलनमा सक्रिय रहेका उनी ०५४ सालमा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेका थिए। सहसचिव, उपसभापति हुँदै १३ औं महाधिवेशनमा उनले कांग्रेस कञ्चनपुरको नेतृत्व सम्हाले। 

३ पटक महाधिवेसन प्रतिनिधि बनेका उनी राजनीतिक जीवनमा पहिलो पटक जनप्रतिनिधिको प्रत्यक्ष चुनाव सामना गरिरहेका छन्। उनी ०७९ मा कांग्रेसका लेखकले निकालेको जितलाई निरन्तरता दिँदै आफ्नो संसद यात्रा तय गर्न कस्सिएका छन्। 

‘अहिले दोधारा चाँदनी क्षेत्रको मतदातासँग भेटघाट भइरहेको छ। सबै उत्साहित हुनुहुन्छ। जित्नेमा ढुक्क छौँ,’ बोहराले भने, ‘विगतमा हामीले जितेर गएपछि यस क्षेत्रमा थुप्रै काम भएका छन्।’

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणलाई पूर्णता, महाकाली करिडोर निर्माण गरेर त्रिदेशीय नाकाका रुपमा विकासका साथै  मझगाउँ विमानस्थल उनले एजेण्डाका रुपमा अघि सारेका छन्। 

क्षेत्र नम्बर ३- कांग्रेसको गढ
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसको गढ नै मानिन्छ। कांग्रेसले वर्चश्व जमाएको यो क्षेत्रमा ०४८ यताका निर्वाचनमा एमालेले २ पटक जितेको छ।

०४८ को चुनावमा कञ्चनपुरमा २ वटा निर्वाचन क्षेत्र थिए। साविकको २ नम्बर क्षेत्रमा पर्ने यो क्षेत्रबाट कांग्रेसका तारणीदत्त चटौत जितेका थिए। 

०५१ को चुनावमा ३ क्षेत्र बनाइएको कञ्चनपुरको यो ठाउँबाट एमालेका उर्वादत्त पन्तले एमालेको विजयी झण्डा फहराएका थिए। 

०५६ मा कांग्रेसका रमेश लेखकले जित निकाल्दै पहिलो पटक संसद यात्रा तय गर्ने मौका पाएका थिए। ०६४ को चुनावमा कञ्चनपुरमा ४ वटा निर्वाचन क्षेत्र बनाइयो।

साविकको क्षेत्र नम्बर ४ मा पर्ने यो स्थानमा माओवादीको लहर चलिरहेका बेला पनि कांग्रेसले नै जितेको थियो। 

डडेल्धुरा र कञ्चनपुरबाट लडेका शेरबहादुर देउवा दुवै क्षेत्रबाट जितेका थिए। लेखक यो चुनावमा समानुपातिकतिर लागेका थिए। 
देउवाले साविक कञ्चनपुर ४ छोडेपछि भएको उपचुनावमा माओवादीले जितेको थियो।

०७० मा साविक क्षेत्र नम्बर ४ मा कांग्रेसकै लेखकले जिते। ०७४ मा फेरि कञ्चनपुरमा ३ निर्वाचन क्षेत्र कायम भए। 

क्षेत्र नम्बर ३ बाट ०७४ मा कांग्रेसको निरन्तरको विजयी यात्रा एमालेका दीपकप्रकाश भट्टले तोडेर पहिलो पटक संसद यात्रा तय गरे।  
०७९ को चुनावमा निर्वाचित हुँदै कांग्रेसका लेखक चौथो पटक संसद पसेका थिए।

जित दोहोर्‍याउन खोज्दै भट्ट
नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर ३ मा डा.दीपक प्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ। ०७४ को जितलाई निरन्तरता दिँदै दोस्रो पटक संसद पस्ने प्रयासमा छन्, उनी। 

सेना, सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका जानकार भट्टले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। 

तत्कालीन सेना समायोजन विशेष समिति मातहत रहेको प्राविधिक समितिको सदस्य भएर उनले काम समेत गरेका थिए। 

उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति तथा विकास विषय अध्यापन समेत गरे। 

०५६ सालदेखि निरन्तर रुपमा संसद छिर्ने अवसर पाइरहेका लेखकको संसद् यात्रा वामगठबन्धनको साझा उम्मेदवार बनेका भट्टले ०७४ मा रोके। 

त्यसबेला लेखकलाई उनले २५८ मतले पराजित गरेका थिए। ०७४ को जितमा साथ दिएको माओवादी अहिले भट्टको साथमा छैन।

एमालेको एक्लै बलमा जित निकाल्ने रणनीतिका साथ मतदाता भेटघाटमा भट्टले तीव्रता दिएका छन्। 

‘संक्रमणकाल अन्त्य हुनुपर्छ। देशमा स्थायित्व गराएर रोजगारी सृजना गर्नुपर्छ। त्यसका लागि निर्णायक शक्ति एमाले नै हो,’ भट्ट भन्छन्, ‘अघिल्लो कार्यकालमा गरेका अपुरा प्रतिवद्धतालाई पूर्णता दिने काममा अघि बढ्छौं।’

मझगाउँ विमानस्थल, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माण गरेर त्रिदेशीय नाका विकास गरिने उनको प्रतिबद्धता छ। 

‘गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न सफल भएका छौं। अब सेती र महाकाली अस्पतालबाट नर्सिङ पढाइ गर्नुपर्ने अभियानमा छौं,’ उनी भन्छन्, ‘विगतमा गरेका वाचा धेरै पूरा भएका छन्। अपूरालाई पूरा गर्न जनताले फेरि जिताउनेमा विश्वस्त छौं।’

३१ वर्षपछि संघमा भिडिरहेकाका छन् सुनार
नेपाली कम्युनिष्ट पार्टीले अघि सारेका मानबहादुर सुनारले कांग्रेस पार्टीबाट राजनीति सुरु गरेका थिए। 

कांग्रेसले जितेको ०४८ को चुनावमा दोधारा चाँदनी क्षेत्रका चुनावी कमाण्डर थिए उनी। ०४९ मा उनी कांग्रेसबाटै दोधारा गाविसको अध्यक्ष निर्वाचित भएका थिए।

०५१ मा कांग्रेसबाट चुनाव लड्नका लागि रमेश लेखक र सुनारले इच्छा गरेका थिए। तर कांग्रेस नेता एनपी साउँदले टिकट पाएपछि सुनारले कांग्रेसमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

०५६ मा लेखक चुनाव लड्दा उनलाई जिताउन सुनार लागेका थिए। कांग्रेसबाट टिकट नपाएपछि असन्तुष्ट बन्दै गएका सुनार ०६९ मा माओवादी पार्टी प्रवेश गरे।

०७४ मा माओवादीबाट प्रदेश ३(२) मा निर्वाचित सुनार सुदूरपश्चिम प्रदेश सरकारमा कृषिराज्यमन्त्री समेत बने। 

माओवादी हुँदै नेकपामा अहिले केन्द्रीय सदस्य रहेका उनै सुनार ३१ वर्षपछि प्रतिनिधिसभाको दौडमा उत्रिएका छन्।

खल्लामसेट्टीदेखि कुतियाकभरसम्म बाढी र कटानको समस्या समाधानका लागि तटबन्ध निर्माण र दोधारा चाँदनीका केही कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने योजना उनले अघि सारेका छन्। 

सुख्खा बन्दरगाह लगायत यस क्षेत्रका ३० वटै वडाको समुन्त विकासमा लाग्ने उनको भनाइ छ।

‘यसक्षेत्रका हरेक समस्या राम्रोसँग बुझेको छु। सबै पार्टीभित्रका साथीले यसलाई जितायो भने काम गर्न सक्छ भन्ने लागेको छ,’ सुनार भन्छन्, ‘कांग्रेसमा पनि नयाँ अनुहार छन्। एमालेका विगतमा जितेपछि फर्केर आएनन् भन्ने छ।’

नेकपाले एमालेलाई आफ्नो मुख्य प्रतिस्पर्धी हुने अनुमान गरेको छ। रास्वपाको चर्चा केही सहरी क्षेत्रमा रहेपनि गाउँमा नभएकोले प्रतिस्पर्धामै नआउने तर्क छ। 

यस क्षेत्रका लागि दोधारा चाँदनीको मत निर्णायक मानिन्छ। दोधारा चाँदनी भूगोलबाट पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनेकाले त्यस क्षेत्रबाट जनताको साथ पाउने विश्वासमा सुनार छन्। 

यस्तो छ ०७९ को चुनावी अंकगणित
कञ्चनपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्रसहित १७ जना उम्मेदवार रहेपनि विगतको चुनावी परिणामका आधार कांग्रेस, एमाले र नेकपाबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। 

क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता र राप्रपाका पूर्णबहादुर चन्द पनि जित निकाल्ने गरी मैदानमा  कस्सिएका छन्। 

नेमकिपाका मिन गिरी, राष्ट्रिय जनमोर्चाका लालबहादुर कुवँर, नेकपा संयुक्तका कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालका किरन थापा, आम जनता पार्टीकी लक्ष्मी कुमारी विष्ट, नेकपा माओवादीका विष्णुप्रसाद उपाध्याय र राष्ट्रिय मुक्ति पार्टीका लोकराज भट्ट पनि उम्मेदवार छन्। 

स्वतन्त्र थानेश्वर लेखक, हर्क बहादुर ऐर, वीरसिंह क्षेत्री, श्रम संस्कृति पार्टीका गंगादत्त जोशी र उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल उम्मेदवार छन्।

समानुपातिक मतका आधारमा कांग्रेस बलियो छ। ०७९ मा कांग्रेसले २० हजार ५७१, एमालेले ११ हजार ८१६, राप्रपाले ६ हजार २६, रास्वपा ४ हजार ९००, माओवादीले ४ हजार ४६२ र नेकपा एकीकृत समाजवादीले ३ हजार ९३३ समानुपातिक मत पाएको थियो। 

०७९ को चुनावमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारले ३० हजार ५७५ मत, एमालेले १८ हजार ४८५, रास्वपाका उम्मदेवारले २ हजार ३१ मत ल्याएका थिए। 

क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९, दोधाराचाँदनीका १० र बेदकोटको वडा नं. ८ गरेर कूल ३० वडा छन्।

स्थानीय तह चुनावमा भीमदत्त नगरपालिकाको प्रमुख कांग्रेस र दोधारा चाँदनी नगरपालिकाको प्रमुख एमालेले जितेको थियो। यी दुवै पालिकामा कांग्रेसका प्रमुखले २२ हजार ५४ मत, एमालेले १५ हजार २८३ र राप्रपाले ७ हजार ९८८ मत पाएको थियो। 

क्षेत्र नं. ३ का कुल ३० वडामध्ये कांग्रेसले १४, एमालेले ९, माओवादीले ३, राप्रपाले २ र एकीकृत समाजवादी तथा स्वतन्त्र उम्मेदवारले १–१ वडा जितेका थिए।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले क्षेत्र नम्बर ३ मा पर्ने ३० वडामा कुल २१ हजार ७७२ मत ल्याएका थिए। 

एमालेका वडाध्यक्षका उम्मेदवारले १६ हजार ११७ मत हासिल गर्दा राप्रपाले ६ हजार ५०३, माओवादी केन्द्रले ६ हजार ८१ र एकीकृत समाजवादीले ३ हजार १५ मत प्राप्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad