कञ्चनपुर जिल्लाको एउटा विशेषता छ, एक पटक निर्वाचित भएको दलले लगत्तै अर्को चुनाव नजित्ने। अनि अपवादबाहेक कुनै पनि नेता लगातार निर्वाचित नहुने।
२०४८ सालयताका प्रायः सबै निर्वाचनमा यहाँका मतदाताले दल र नेता बदल्ने गरेका छन्। एउटा निर्वाचन जितेको दल र उम्मेदवार लगत्तैको चुनावमा दोहोरिन पाउँदैनन्। र, जितेका दलले जिल्लैभरि क्लिनस्विप गर्छन्। अपवादका रुपमा शेरबहादुर देउवा र एनपी साउदलाई लिन सकिन्छ।
२०४८ सालमा दुई वटा र त्यसपछि बनेका तीन (संविधान सभामा चार) निर्वाचन क्षेत्र कायम रहेको कञ्चनपुरका सबै क्षेत्रमा प्रायः एकै दल विजयी हुँदै आएका छन्।
२०४८ सालमा दुवै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो भने २०५१ को निर्वाचनमा तीन वटै क्षेत्रमा एमालेले क्लिनस्विप पारेको थियो। २०५६ सालमा तीन वटै क्षेत्रमा कांग्रेसले अघिल्लो हारको बदला लिँदा २०६४ मा क्लिनस्विप पार्ने पालो नेकपा (माओवादी) को थियो।
यद्यपि क्षेत्र नं ४ मा डडेलधुरामा पनि उम्मेदवारी दिएका शेरबहादुर देउवाले जितेका थिए भने माओवादीलाई क्लिनस्विप गर्न उपचुनाव कुर्नुपरेको थियो। यस्तै, २०७० मा पुनः कांग्रेस चारै क्षेत्रमा आफ्नो झण्डा गाड्न सफल भयो।
दलहरूले एक आपसमा गठबन्धन गरेर चुनाव लड्ने ‘गठबन्धन संस्कृति’ भित्रिएपछि मात्रै जिल्लामा जनमत हुँडलिएर मिश्रित परिणाम आउन थालेको हो।
२०७४ सालमा वाम गठबन्धनको तर्फबाट क्षेत्र नं २ र ३ मा एमाले तथा १ मा नेकपा (माओवादी केन्द्र) ले चुनाव जितेका थिए। २०७९ मा भने २ र ३ मा कांग्रेस आउँदा १ मा एमाले विजयी भयो।
यी तीनै क्षेत्रमध्ये कञ्चनपुर–१ को परिणाम अझ रोचक आउने गरेको छ। यहाँ अहिलेसम्म प्रतिनिधि सभामा कोही पनि दोहोरिएका छैनन्।
यो क्षेत्रबाट २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट विजयी भएका थिए भने २०५१ मा नेकपा (एमाले) का रामकुमार ज्ञवालीले जिते। त्यसपछि २०५६ मा कांग्रेसका एनपी साउद र २०६४ मा नेकपा (माओवादी) का पुरन रानाथारुले चुनाव जिते। २०७० मा पुनः कांग्रेसका दिवानसिंह विष्टले जिते भने २०७४ मा नेकपा (माओवादी केन्द्र) की विना मगर विजयी भइन्। २०७९ मा भने एमालेका तारा लामा तामाङ विजयी भए।
यसरी हालसम्म नेता नदोहोरिएको र लगातार दुई निर्वाचन एकै पार्टीले जितेको रेकर्ड नरहेको कञ्चनपुर–१ को रेकर्ड तोड्न चुनावी मैदानमा आएका छन्, नेकपा (एमाले) का निवर्तमान सांसद तारा लामा तामाङ र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) की पूर्वसांसद विना मगर।
दुवैका एजेन्डा : अधुरा आयोजना पूरा
निवर्तमान सांसद तारा लामा र पूर्वमन्त्री समेत रहेकी विना मगर दुवै जनाले आफ्नो मुख्य चुनावी एजेन्डा भने विगतका अधुरा आयोजनालाई बनाएका छन्।
एमालेका लामा भन्छन्, ‘धेरै योजना अधुरो छ। वर्तमान सरकारले रोकेको छ, कतिपय क्यान्सिल गरेको छ। केन्द्र सरकारसँग समन्वय गरेर एक अर्ब ९ करोडमा ठेक्का लागिसकेका कामसमेत प्रदेश सरकारले पूर्वाग्रही भएर रोकिदिएको छ। ती काम पूरा गर्नुपर्ने छ।’
लामाले कञ्चनपुरमा महाकाली नदीभन्दा पनि विकराल दोदा नदी नियन्त्रणका लागि आफूले काम सुरु गरेको बताए। चुरे पर्वतदेखि भारत सीमासम्म ४३ किलोमिटर लामो दोदा नदीबाट हुने कटान र डुबान कञ्चनपुरको सबैभन्दा ठूलो समस्या हो। दोदाको ८० प्रतिशत भाग क्षेत्र नं १ मै पर्छ। दोदा नियन्त्रणका लागि गुरुयोजनाको काम आफूले सुरु गरेको लामाले बताए।
यस्तै, चौधर र झरना खोला नियन्त्रण, सीमा समस्या, लागुऔषध, आरक्ष विस्थापितका समस्या, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि आफूले काम सुरु गरेको र ती अधुरै रहेको उनले सुनाए। अव्यवस्थित बसोबासीका हकमा विगतको सरकारले आयोग बनाएर काम गरिरहेको भए पनि जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले त्यसमा अवरोध गरेको उनको गुनासो थियो।
दक्षिण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, अधुरो रहेको बोर्डर करिडोर पूरा गर्ने तथा त्यस क्षेत्रमा रहेका दुई वटा चीनी मिलमार्फत स्थानीयले बढीभन्दा बढी लाभ लिने गरी आफूले काम सुरु गरेको बताउँदै उनले आफू निर्वाचित भए ती योजना पूरा हुने दाबी गरे।
यद्यपि व्यक्तिगत रुपमा आफ्ना कुनै एजेन्डा नरहेको र स्थानीय स्तरमा जनताका मुद्दा तथा राष्ट्रिय स्तरमा पार्टीले लिएको राष्ट्रियताप्रतिको अडान, ‘समृद्ध नेपाल सुखी नेपाली’ नै आफ्नो मुख्य एजेन्डा भएको लामाको भनाइ छ।
यस्तै, नेकपाकी उम्मेदवार विना मगर पनि आफू सांसद र मन्त्री हुँदा यो क्षेत्रमा धेरै काम सुरु गरेको बताउँदै आफू निर्वाचित भए ती अधुरा योजना पूरा गर्ने दाबी गर्छिन्।
‘निर्वाचित हुँदा मैले धेरै काम गरेकी थिएँ। शिक्षाको क्षेत्रमा पनि काम गरेको छु। स्वास्थ्यको क्षेत्रमा पनि मैले शिलान्यास गरेको हस्पिटल अझै अधुरै छ। दोदा नदीलाई अलि ठूलो आयोजनामा हालेर तटबन्ध गर्ने विषय छ। सीमा समस्याका कुरा छन्। बाटोघाटोदेखि लिएर पर्यटकीय क्षेत्र प्याराताल, शोभातालमा भौतिक संरचनाहरू अझै पूरा भएको छैन,’ उनले थपिन्, ‘मुख्य गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ट्रयाक खोल्न हामीले वनमन्त्री शक्ति बस्नेतलाई लगेर शिलान्यास गरेका थियौँ। ताकि मेरो निर्वाचन क्षेत्रबाट बेलडाँडी हुँदै शुक्लाफाँटामा वन्यजन्तु हेर्न सकियोस् र पर्यटन विकास होओस्।’
उनले अहिले पार्टीले उठाउने एजेन्डाहरूबारे वडातहमै मसिनो गरी छलफल भइरहेको र वडाहरूबाट आएपछि सबै विषयलाई समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिइन्।
कांग्रेसका गोपी भन्छन्– जनताको पीडा प्रत्यक्ष भोगेको छु समाधान गर्ने हुटहुटी छ
नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय भने आफू कुनै सार्वजनिक पदमा नहुँदासमेत जनताका पीडामा मल्हम लगाउने गरेका कारण जनताले आफूलाई विश्वास गरेर जिताउने दाबी गर्छन्।
विद्यार्थी राजनीतिबाट उदाएका गोपी त्यस क्षेत्रका जनताले भोगेका समस्या आफूले पनि प्रत्यक्ष भोगेको र त्यसलाई समाधान गर्ने हुटहुटी रहेको बताउँछन्।
गोपी भन्छन्, ‘यो क्षेत्र अलिक पिछडिएको क्षेत्र हो। यहाँ आदिवासी जनजाति थारु, आरक्ष पीडित, दलित, सुकुम्बासीहरूका आ–आफ्नै समस्या छन्। ती समस्या मैले पनि प्रत्यक्ष भोगेको हुँदा जनताका पीडासँग मेरो गहिरो भावनात्मक सम्बन्ध छ। त्यसकारण ती समस्या समाधान गर्ने दृढ संकल्प गरेको छु। मनमा ठूलो हुटहुटी छ।’
उनले आफू सामाजिक काममा अहोरात्र खटिएकोले जनताले आफ्नै भाइ–छोराका रुपमा विश्वास गर्ने बताए। सार्वजनिक पदमा नहुँदा समेत युवा समूहहरूलाई खेलकुद सामग्री वितरण, लागुऔषध दुर्व्यसनबाट जोगाउन विद्यालयहरूमै चेतनामूलक काम, वैदेशिक रोजगारका क्रममा ठगिएका युवाहरूलाई मद्दत गरिरहेको, सरकारले निशुल्क दिने भनिएको सिकलसेलको औषधि नपाएका थारु समुदायका बिरामीलाई सहयोग गरेको लगायत सामाजिक कामका कारण समाजले आफूलाई काम गर्ने मान्छेका रुपमा विश्वास गर्ने उनको दाबी छ।
उनले ठूलाठूला एजेन्डा अघि सारेर जनतालाई झुटा आश्वासन नदिने बरु जनताका स–साना समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
‘क्षेत्र नं १ का समस्यालाई सिंहदरबारमा गएर सुनाउँछु। त्यहाँ पुगेर राज्यलाई समाधान गर्न लगाउँछु। वर्षौंदेखिको आरक्ष पीडितको समस्या छ। राज्यले या त हुँदैन भन्नुभपर्यो। या समाधान गर्नुपर्यो। म त्यो गर्न लगाउँछु। सिमानाका समस्या संसदमा जोडदार ढंगले उठाउँछु,’ उनले भने, ‘मुख्य कुरा जनताका स–साना समस्यामा अहिले जस्तै सँगै हुन्छु। ठूलाठूला आश्वासन दिएर जनतासँग झुटो बोल्दिन। अहिले समाजमा जे काम गरिरहेको छु, मेरो निरन्तरता रहन्छ।’
मैदानमा १९ उम्मेदवार, केन्द्रको ‘ह्विम’ कुर्दै रास्वपाका धामी
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक दल र स्वतन्त्र गरेर १९ जना चुनावी मैदानमा छन्। कांग्रेसका उपाध्याय, एमालेका तामाङ र नेकपाबाट मगरसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, राप्रपाबाट डिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका कटकबहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपालका कृष्णबहादुर चौधरी, संयुक्त नागरिक पार्टीका दानियल विक र प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्रबहादुर शाहीले मनोनयन दर्ता गरेका छन्।
यसैगरी नेकपा माओवादीबाट पुरन राना थारु, उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ, राष्ट्रिय जनमोर्चाबाट राजाराम डगौरा चौधरी, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेसनल अर्गनाइजेसनबाट हुमबहादुर गुरुङ उम्मेदवार बनेका छन्।
यस्तै, अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यतिबेला देशव्यापी बन्दै गएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरले कञ्चनपुर–१ लाई पनि छुने रास्वपाका उम्मेदवार जनकसिंह धामीको विश्वास छ।
‘जनताको परिवर्तनको चाहना र रास्वपाको संगठन मेरो चुनाव जित्ने आधार हो,’ कांग्रेस पृष्ठभूमिका धामी भन्छन्, ‘मेरो व्यक्तिगत प्रोफाइलका कारण पनि जनताले भरोसा गर्छन् भन्ने विश्वास छ।’
धामी पनि अन्य उम्मेदवार जस्तै नदी कटान, आरक्ष पीडितका समस्या, सीमा समस्या र लागुऔषध दुर्व्यसन नियन्त्रण लगायत स्थानीय मुद्दा उठाउने तयारीमा छन्। त्यससँगै राष्ट्रिय राजनीतिमा सुधारका लागि आवश्यकता अनुसार नीति बनाउने उनको भनाई छ।
यस्तो छ अंकगणित
कञ्चनपुर क्षेत्र नं १ मा २०७९ को निर्वाचनमा एमालेका तारा लामा तामाङ २४ हजार ९४३ मतसहित विजयी हुँदा पाँच दलीय गठबन्धनकी उम्मेदवार विना मगरले १९ हजार ४०० मत ल्याएकी थिइन्।
यो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८ हजार ६८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीबहादुर शाहीले ३ हजार ५३९ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०९ मत ल्याएका थिए।
प्रदेश सभातर्फ १ (क) मा एमालेका वीरबहादुर थापा र (ख) मा कांग्रेसका दिवानसिंह विष्ट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।
चार वटा पालिका रहेको यो क्षेत्रमा पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका नेपाली कांग्रेसले जितेको छ भने बेलौरी नगरपालिका माओवादी र लालझाडी गाउँपालिका एमालेले जितेको छ।
३२ वटा वडा रहेको कञ्चनपुर क्षेत्र नं १ मा ५२ मतदानस्थल र १२२ वटा मतदान केन्द्रबाट १ लाख १ हजार ७२४ मतदाताले मतदान गर्दै छन्।
कसले मार्ला बाजी?
कञ्चनपुर–१ मा मूलतः एमाले, नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। रास्वपाको बढ्दो चर्चाले जनमत नतिजा कतातिर लैजान्छ, ठ्याक्कै भन्न सक्ने अवस्था छैन। यद्यपि, यी तीनै दल रास्वपाको ‘लहर’ सामाजिक सञ्जालको हल्ला मात्रै भएको र धरातल त्यस्तो नरहेको दाबी गर्छन्।
एमाले उम्मेदवार तारा लामा यसअघि गठबन्धनलाई हराएर निर्वाचित भएको र आफ्ना अधुरा योजना पूरा गर्नुपर्ने भएकाले जनताले पुनः अनुमोदन गर्नेमा विश्वस्त छन्।
सालीन र जनताबीच सहजै घुलमिल हुनसक्ने लामा प्रायः चुनाव नहार्ने नेतामा पर्छन्। २०५४ सालमा कालिका गाविसको अध्यक्ष निर्वाचित भएका उनी २०७४ मा वाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए। एमालेका पूर्व जिल्ला अध्यक्ष लामा पार्टी विभाजनताका एकीकृत समाजवादीमा लागे पनि पछि एमालेमै फर्केर २०७९ को चुनावमा गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्य बने।
नेकपाकी उम्मेदवार विना मगरसँग प्रचण्ड परिवारको विरासत छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना तत्कालीन माओवादीको सशस्त्र संघर्षबाट आएकी नेतृ हुन्।
२०७४ मा वाम गठबन्धन हुँदा प्रतिनिधि सभामा निर्वाचित भएकी उनी केही समय खानेपानीमन्त्री समेत बनिन्। २०७० मा कांग्रेसका दिवानसिंह विष्ट र २०७९ मा एमालेका लामासँग पराजित उनको प्रतिनिधि सभामा प्रवेश गर्ने यो चौथो प्रयास हो।
यस्तै, कांग्रेसका गोपी उपाध्याय विद्यार्थी आन्दोलनबाट आएका नेता हुन्। २०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको स्ववियु सभापति रहेका उनी नेविसंघको जिल्ला अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन्। उनी कांग्रेस कञ्चनपुरको जिल्ला सदस्य र दोस्रो कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन्। सामान्य परिवारका उपाध्याय युवा समुदायमाझ लोकप्रिय छन्।
यस्तै, कांग्रेस पृष्ठभूमिका रास्वपा उम्मेदवार धामी अग्रज किसान हुन्। सात विघा क्षेत्रफलमा केरा खेती गरिहेका धामी आफू वास्तविक किसान भएका कारण जनताको समस्या बुझ्ने र समाधान गर्न क्षमता राख्ने दाबी गर्छन्।
चार दलका उम्मेदवारहरूबीच आ–आफ्नै दाबी रहँदा थारु बहुल यस क्षेत्रबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका राजाराम चौधरी यसपटकको जनमत सबैले सोचेभन्दा फरक आउने दाबी गर्छन्।
मिश्रित बसोबास रहेको कञ्चनपुर–१ मा मूलतः थारु जनमत निर्णायक देखिन्छ। यो मतलाई आफ्नो पोल्टामा पार्न सक्ने उम्मेदवारले नै बाजी मार्ने निश्चित छ।
Shares

प्रतिक्रिया