राजनीति


प्युठानका मतदाता ‘गतिशील’ : सूर्य थापालाई दोहोरिन कति मुस्किल?

विश्लेषक भन्छन् : यसपटक विदेश बस्ने युवाले मतदातामा प्रभाव पार्ने देखिन्छ
प्युठानका मतदाता ‘गतिशील’ : सूर्य थापालाई दोहोरिन कति मुस्किल?

सागर न्यौपाने
माघ १९, २०८२ सोमबार ७:१०, काठमाडौँ

मोहनविक्रम सिंहले २०१० मा प्युठान जिल्लामा कम्युनिस्ट पार्टी स्थापना गरेका हुन्। उनले त्यसबेला जिल्लाभरि संगठन बनाए। मोहन वैद्य जस्ता दार्शनिक नेता प्युठानबाटै जन्मिए।

तर, २०१७ सालमा राजा महेन्द्रले सिंहसहित कम्युनिस्ट नेताहरूलाई पक्राउ गरेर जेल हालेपछि नेकपा छिन्नभिन्न भयो। जेलबाट निस्किएर सिंहसहितका नेताहरूले छिन्नभिन्न भएको कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने प्रयास थाले।

यसैक्रममा केन्द्रीय न्युक्लियस गठन भयो। त्यसमा पनि फुट आएपछि सिंहको नेतृत्वमा २०३२ सालतिर नेकपाको चौथो महाधिवेशन भयो र त्यसलाई नेकपा चौम भन्न थालियो।

तर, चौममा पनि विभाजन भयो र नेकपा मशाल र मसाल नामाकरण भयो। मसालको नेतृत्व सिंहले गरे। मोहन वैद्यले मशालको नेतृत्व लिए।

२०४६ सालमा जनआन्दोलन सफल भएपछि २०४८ सालमा आम चुनाव तय भयो। वैद्य नेतृत्वको मशालले संयुक्त जनमोर्चा गठन गरेर चुनावमा भाग लियो। तर, सिंह नेतृत्वको मसालले संविधान सभाको माग गर्दै सो चुनाव बहिष्कारको नीति लियो।

त्यसको सिधा प्रभाव प्युठानमा पर्‍यो। २ वटा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेपाली कांग्रेसका शिवराज सुवेदी क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदा कांग्रेसकै मुक्तिप्रसाद पण्डित क्षेत्र नम्बर २ बाट जिते। 

त्यसपछि चुनाव बहिष्कारको नीति पुनर्विचार गर्दै मसालले चुनावमा सहभागी हुने निर्णय गर्‍यो। २०५१ मा मध्यावधि निर्वाचन हुने भएपछि मसालका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने निचोड निकाले। जसमा प्युठान क्षेत्र नम्बर १ बाट केशवबहादुर गुरुङ र क्षेत्र नम्बर २ बाट नवराज सुवेदीले उम्मेदवारी दिए।

क्षेत्र नम्बर १ मा कांग्रेसका शिवराज सुवेदी दोहोरिँदा क्षेत्र नम्बर २ मा नवराज निर्वाचित भए।

भूमिगत अवस्थामै मसाल चलाइरहेका सिंहलाई प्युठान र बाग्लुङको एउटा क्षेत्रको जितले उत्साहित बनायो र चुनावलाई उपयोग गर्ने नीति लिएर राष्ट्रिय जनमोर्चा गठन गरे। 

२०५६ सालमा आम चुनाव भयो। यही राजमोबाट नेताहरू चुनाव लडे। सो पार्टीले प्युठानको २ वटा, बाग्लुङ २ वटा र अर्घाखाँचीको १ क्षेत्रसहित पाँच सिट जित्यो।

प्युठान क्षेत्र नम्बर १ मा हरि आचार्य निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा नवराज सुवेदी दोहोरिएका थिए।

तर, २०६४ मा भएको संविधानसभाको चुनावमा राजमोले प्युठान जित्न सकेन। त्यहाँ नेकपा माओवादीले दुवै क्षेत्रमा जित निकाल्यो।

क्षेत्र नम्बर १ मा राजमोका २०५६ मा निर्वाचित हरि आचार्यलाई हराउँदै नेकपा माओवादीका नारायण अधिकारी निर्वाचित भए। यस्तै, क्षेत्र नम्बर २ माओवादीकै दीपक केसीले जित निकाले। 

२०७० मा फेरि संविधान सभाको चुनाव भयो तर, यसपटक माओवादी केन्द्रले दुवै क्षेत्र गुमायो र एमाले उदायो। क्षेत्र नम्बर १ मा वामदेव गौतम निर्वाचित हुँदा क्षेत्र नम्बर २ मा एमालेकै हीराबहादुर केसी विजयी बने र माओवादी र राजमोका उम्मेदवालाई झड्का दिए। 

२०७२ पछि निर्वाचन क्षेत्र समायोजन भयो। २ क्षेत्र रहेको प्युठान १ मा झर्‍यो।

संविधान जारी भएपछि २०७४ मा प्रतिनिधि सभाको चुनाव भयो। प्युठानबाट राजमोकी दुर्गा पौडेल निर्वाचित भइन्। उनले कांग्रेसका डा गोविन्दराज पोखरेललाई हराएकी थिइन्। यद्यपि, त्यसबेला एमाले, माओवादीसहित गठबन्धन थियो। 

तर, उनको विजयी यात्रा २०७९ मा कायम रहेन। कांग्रेस–माओवादी–एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धनकी उम्मेदवार रहेकी पौडेललाई हराएर एमालेका सूर्यबहादुर थापा निर्वाचित भए। 

शिवराज र नवराजबाहेक दोहोरिन नसकेको प्युठानमा ३९ महिनापछि उनै थापा फागुन २१ गते हुने चुनावको उम्मेदवार छन् र शिवराज र नवराजको रेकर्ड बराबर गर्न चाहन्छन्।

कांग्रेसले डा गोविन्द पोखरेललाई उठाएको छ। नेकपाले कृष्णध्वज खड्कालाई उम्मेदवार बनाउँदा रास्वपाले सुशान्त वैदिकलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमोर्चाले तिकलबहादुर जिसीलाई उठाएको छ। त्यसबाहेक राप्रपा, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी लगायत १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

सांगठनिक मत एमालेको बलियो आधार
प्युठानमा २०४६ तिर एमालेका मोदनाथ प्रश्रितले संगठन बनाएका हुन्। तर, चुनाव जित्न ०७९ कुर्नुपरेको थियो।

त्यसबेला प्रत्यक्षमा एमालेका सूर्य थापाले ४१ हजार ११८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत पाएकी थिइन्।

यस्तै, रास्वपाका कृष्णप्रसाद पोखरेलले ३ हजार ३१८ मत पाएका थिए। सो चुनावमा समानुपातिक तर्फ एमालेले ३३ हजार ८ सय ०४ मत पाएर सबै दललाई दोब्बर बढीले उछिनेको देखिन्छ। 

कांग्रेसले १७ हजार ८ सय ५१ मत ल्याएको छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टीले १३ हजार ३०३ मत ल्यायो। राष्ट्रिय जनमोर्चा ९ हजार ९५९ मत पाएको थियो। रास्वपाले समेत ५ हजार ८५१ मत पाएको थियो।

तर, अघिल्लो चुनावमा भन्दा यसपटक त्यहाँको माहोल अर्कै बनेको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रका उपप्राध्यापक शिवराज पण्डित बताउँछन्।

‘यहाँबाट उम्मेदवारी दिएकामध्ये शिवराज र नवराजबाहेक अरु दोहोरिन सक्नुभएन,’ उनले नेपालखबरसँग भने, ‘यसले यहाँको मतदाताको मनोविज्ञान गतिशील छ भन्ने देखाउँछ।’

प्युठानको समग्र विकास हुन नसकेपछि मतदाताले केन्द्रीय तहमा पहुँच भएको नेता खोजिरहेको उनले बताए।

‘जेनजी आन्दोलनपछि मतदाताको मनोविज्ञानमा क्रमभंगता हुने सम्भावनालाई नकार्न सकिँदैन,’ पण्डितले थपे, ‘आजको दिनसम्म भोटका आधारमा एमाले, कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ, नेकपा र राजमो चौथो र पाँचौँका लागि भिड्न सक्छन्।’

दलहरूले चुनावी अभियान थालिसकेका छैनन्। सुरुमा देखिएको रास्वपाको गतिविधि बढेको छैन। त्यसो हुँदा दलहरूले अभियान थाल्दा आफ्नो पक्षमा माहोल ल्याउन सक्ने सम्भावना बाँकी रहेको उपप्राध्यापक पण्डितको भनाइ छ।

रास्वपाले भावनाको राजनीति गरेको कुरा मतदाताले बुझ्न थाले भने परिस्थिति पुरानाकै पक्षमा आउने उनको विश्लेषण छ। त्यसो हुँदा यसअघि विजयी एमालेका थापा र कांग्रेसका पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसको विशेष महाधिवेशनसँगै देखिएको विवाद तलैसम्म पुग्यो भने थापालाई फाइदा हुन सक्नेछ।

प्युठानको मत सहरमा अध्ययन, रोजगारी गर्न गएर चुनावका बेला फर्किएका युवाले बदलेको विगत छ। ०६४ को उभार उनै सहर बसेर पढेका, रोजगारी, व्यापार व्यवसाय गरेर फर्किएका मतदाताले ल्याएका हुन्। 

तर, प्युठानमा यसपटक विदेश बसेका युवा हाबी हुनसक्ने सम्भावना देख्छन् स्वर्गद्वारी बहुमुखी क्याम्पसका उपप्राध्यापक पण्डित। 

‘अबको चुनावमा देशबाहिर रहेका युवाले यस जिल्लाको मतदातामा प्रभाव पार्ने देखिन्छ,’ उनको विश्लेषण छ, ‘यदि भदौ २४ गतेको विध्वंस कसले गरायो भनेर खोजी गरे भने मतदाताको मन बदलिने देखिन्छ।’

राजमोका सल्लाहकार हरि आचार्य पनि संगठन हेरेर यसपटक चुनावी परिणामको आकलन गर्न नसकिने बताउँछन्। 

‘जनताको मत कता जान्छ, कुनै पनि दलको संगठन हेरेर यसपटक मत अन्दाज गर्न सकिँदैन,’ उनले भने।

प्युठान र स्वर्गद्वारी नगरपालिका रहेको प्युठानमा गौमुखी, नौबहिनी, झिमरुक, मल्लरानी, ऐरावती, सरुमारानी र माण्डवी गाउँपालिका छन्।

यिनै २ नगरपालिका र ७ गाउँपालिकासहित कुल ९ वटा स्थानीयतहबाट १ लाख ६१ हजार ६८० मतदाताको मन जित्नुपर्नेछ। यसपटकको चुनावमा दलहरू एक्लाएक्लै मैदानमा भएकाले मत क्रस हुने सम्भावना न्यून छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad