निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा त्यसको उल्लंघन गर्दै कर्मचारी छनोट प्रक्रिया अघि बढाएको भन्दै निर्वाचन आयोगले पूर्वाञ्चल विश्वविद्यालयसँग स्पष्टीकरण माग गरेको छ।
आयोगले विश्वविद्यालयलाई पत्र काट्दै आचारसंहिता २०८२ विपरीत करार सेवामा कर्मचारी छनोटका लागि लिखित परीक्षा सञ्चालन गरेको र नतिजा प्रकाशन गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगमा परेको उजुरीका आधारमा लेखिएको उक्त पत्रमा माघ ४ गते रातिदेखि नै आचारसंहिता लागू भइसकेको अवस्थामा आयोगको पूर्व सहमति बिना किन परीक्षा र नतिजाको काम अघि बढाइएको भनी प्रश्न गरिएको छ। आयोगले यस विषयमा पत्र प्राप्त भएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिँदै अन्यथा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।
विश्वविद्यालयले गत कात्तिकमा करार कर्मचारी भर्नाको लागि सार्वजनिक सूचना जारी गरेको थियो। लामो समयसम्म पदपूर्ति नगरी रोकिएको परीक्षा १० गते गरेको थियो। करार कर्मचारी भर्नाको लागि माघ ४ गते सूचना प्रकाशित गरी माघ ८ गतेसम्ममा प्रवेश पत्र लिन र १० गते परीक्षा सञ्चालन गर्ने भनी सार्वजनिक भएको थियो।
त्यसैको आधारमा विश्वविद्यालयले १० गते नै परीक्षा सञ्चालन गरी राति नै परीक्षाफल प्रकाशित गरेको थियो। निर्वाचन आचारसंहितामा कुनै पनि करार कर्मचारी नियुक्ति, सरूवा, बढुवा गर्न नपाउने भनी उल्लेख छ। यस्तै विश्वविद्यालयले अर्को आचारसंहिता उल्लंघन गर्न लागेको भन्दै टिकाटिप्पणी शुरू भएको छ।
आयोगको ताकेताका बीच विश्वविद्यालयले भने आगामी माघ २९ र फागुन १ गते गोठगाउँस्थित केन्द्रीय कार्यालयमा ठूलो वैदेशिक उपस्थिति रहने गरी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ।
‘भिजनिङ द हिमालयन फ्युचर’ नाम दिइएको उक्त दुई दिने सम्मेलनमा नेपालसहित भारत, अमेरिका, नर्वे र बंगलादेश लगायत १२ भन्दा बढी देशका ३ सय भन्दा बढी प्राज्ञ र नीति निर्माताहरूको सहभागिता रहने विश्वविद्यालयले जनाएको छ।
करिब १५० वटा कार्यपत्र प्रस्तुत गरिने भनिएको उक्त सम्मेलनका लागि विभिन्न निजी बैंक र व्यावसायिक संस्थाहरूको सहयोग लिइएको छ। निर्वाचनको समयमा सरकारी वा सार्वजनिक निकायले गर्ने यस्ता ठूला गतिविधि र नयाँ नियुक्तिले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउने भन्दै आयोगले निगरानी बढाएको छ।
Shares

प्रतिक्रिया