नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्।
बुधवार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न एकता अपरिहार्य रहेको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान आह्वान गरे।
समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको बताए।
‘कमरेड विप्लवको नेतृत्वमा हामी समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाउँ भनेर धेरै प्रयास गरिएको हो। कमरेड विप्लव समेत सबै एकतामा आउन पटक पटक गम्भिर संवाद वार्ता, छलफल पनि नभएको होइनन्,’ प्रचण्डले भने, ‘पछिल्लो पटक त झण्डै टुंगियो भन्ने बुझेको थिएँ मैले । अब टुंगियो र आउनुहुन्छ, भन्ने बुझेको थिएँ जतिवेला म आफै उहाँको निवासमा गएर लामो र गम्भिर छलफलपछि अब एकतामा जाने भनिएको थियो।’
जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उनले बताए। आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै प्रचण्डले विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए।
‘खुमलटारमा कमरेड प्रकाण्डलाई बोलाएर छलफल गरेपछि उहाँ निकै भावुक हुनुभयो र उठेर मलाई अंकमाल गर्नुभयो र अब हामी एक भईयो भन्नुभयो,’ उनले भने, ‘त्यतिवेला हामीले सोचेका थियौँ, उहाँहरू अब एकतामा आउने हुनुभयो। तर दुर्भाग्य जेनजी आन्दोलन वरिपरि आईपुग्दा कता कता बैचारिक अन्यौलको भुमरीमा, निकै ठुलो तुवालोभित्र उहाँहरु हराएजस्तो, लिडरसीप हराएजस्तो महसुस मैले पनि गरे।’
जेनजी आन्दोलनपछि विप्लव लगायत नेताहरू भड्किएको प्रचण्डले बताए। यताउता भड्किएर केही नहुने उनको भनाइ थियो।
‘जेनजी आन्दोलनपछि उहाँहरू धेरै नै भड्किनुभयो। धेरै नै विचलित हुनुभयो। ठूलो भुमरिमा निस्सासिएजस्तो देखियो, मुख्य नेतृत्व नै,’ प्रचण्डले थपे, ‘अहिले पनि उहाँले आत्मसमिक्षा गर्नुपर्छ, जसरी हामीले गरेका छौँ। हामीले यो एकतामा आउन सबै घटकहरूले आ–आफ्नो आत्मसमिक्षा गरेर आफ्ना कमजोरी सच्याउने, यो राष्ट्रको स्वाधिनताको रक्षाको निम्ति, कम्युनिष्ट आन्दोलनको रक्षाको लागी एकचोटी फेरि हामी एकताद्धारा तागत पैदा गर्ने भनेर आएको हो।’
उनले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए।
‘म उहाँहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरू पनि आत्मसमीक्षा गर्नुस्, तपाईहरूको रियल घर यही हो, तपाईहरू आउनुपर्ने ठाउँ यही हो। यता र उता गरिराख्नुभएको छ, आजभोलि। त्यसले केही हुनेवाला छैन,’ प्रचण्डले भने।
उनले भने, ‘म गम्भिर ढंगले मेरो पुरानो, सँगै बसेको कमरेडहरू हुनुको नाताले पनि भन्न चाहन्छु, तपाईहरूले आत्मसमीक्षा गर्ने यो वेला हो। अझै पनि तपाईहरूको पूरै अवसर गुमिसकेको छैन। तपाईहरूले आत्मसमीक्षा गर्नुभयो र एकतामा आउनुभयो भने तपाईहरूलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ।’
Shares

प्रतिक्रिया