दुई दिनअघि माघ १० मा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले आफ्नो ५२औँ स्थापना दिवस मनायो। देशको पुरानो मध्येको यो दलले नाम अनुसारनै मजदूर किसानको पक्षमा आफूलाई उभ्याएको दाबी गर्छ। संसद्भित्र र बाहिर सशक्त ढंगले जनपक्षीय आवाज उठाउँछ। राष्ट्रियताबारे जोडदार सुनिन्छ।
र, जनताले सुम्पेको जिम्मेवारी चाहे स्थानीय तहमा होस् या संसदीय क्षेत्र, कुशलतापूर्वक सम्पन्न गर्दै आएको छ। पार्टीको नेतृत्वमा पनि निष्कलंक र अनुभवी राजनीतिज्ञ छन्- अध्यक्ष नारायणमान बिजुक्छे।
तर, पार्टीको फैलावट भने साघुँरो छ, अझ साँघुरिँदै गएको देखिन्छ। पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ सालको परिवर्तन, अथवा संविधान निर्माण, हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको नेमकिपा २०४८ सालदेखि नै संसद्मा छ। २०४८ सालको निर्वाचनमा नेमकिपाले भक्तपुरका दुई वटा क्षेत्रसहित दैलेख र जुम्लासम्म संसद्मा आफ्नो प्रतिनिधित्व गराएको थियो। तर, २०५१ सालमा जुम्लालाई कायम राख्न सके पनि त्यसयता भने संसद् भित्रको प्रतिनिधित्वको हिसाबले भक्तपुर क्षेत्र नं. १ मा सीमित छ।
स्वेच्छाले संसदीय राजनीति नत्याग्दासम्म अध्यक्ष बिजुक्छेले भक्तपुर-१ बाट संसद्मा एकछत्र प्रतिनिधित्व गर्थे। बिजुक्छेले २०७४ सालमा संसदीय यात्रामा ‘ब्रेक’ लगाएपछि भने त्यसपछिका निर्वाचनमा प्रेम सुवालले जित्दै आएका छन्।
सुवाल उनै व्यक्ति हुन्, जो हरेक विषयवस्तुलाई गहिरो गरी अध्ययन गर्छन्। अनि, तयारीका साथ संसद्मा उपस्थित हुन्छन् र हरेक विधेयकमा आफ्नो धारणा राख्छन्। संसद्मा उनले आफूलाई खरो रुपमा उभ्याउँदै आएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समेत उनै सुवाल भक्तपुर-१ को चुनावी मैदानमा छन्।

भक्तपुरमा दल र स्वतन्त्र गरेर ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। जहाँ १ नम्बर क्षेत्रमा १६ दल र ९ स्वतन्त्र गरी २५ जना उम्मेदवार सुवालसँग प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा (एमाले) का सोमप्रसाद मिश्र, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरिराम लबजू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राकेश रञ्जित लगायतसँग सुवालको प्रतिस्पर्धा हुँदै छ।
यद्यपी भक्तपुरमा आधा शताब्तीको विरासत र विगतका निर्वाचनमा पनि प्रतिस्पर्धीसँगको मतान्तरलाई हेर्दा सुवाल सहजै संसद्मा आउने देखिन्छ। तैपनि प्रतिस्पर्धा न हो, जनताको मत कतिबेला कसरी बदलिन्छ भन्न सकिँदैन। सधैँ विरासत भनेर पनि हुँदैन र विगतको परिणामले पनि साथ दिँदैन।
नेमकिपाको चुनाव जित्ने आधार के त? यो प्रश्नमा नेमकिपाका सचिवसमेत रहेका सुवाल एक शब्द बोल्छन्, ‘जनता।’
केहीबेर सोच्दै उनी थप्छन्, ‘जनता नै सर्वेसर्वा हुन्। हामीले देश र जनताको पक्षमा उठाएका आवाज र गरेका कामहरू नै चुनाव जित्ने आधार हुन्।’
२०७९ सालको संसदीय निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए। यस्तै, राप्रपाका भरतबहादुर खड्काले ९ हजार २२२ मत ल्याएका थिए। भक्तपुर २ मा भने नेपाली कांग्रेसका दुर्लभ थापाले जित निकाल्दा एमाले दोस्रो र नेमकिपाका उम्मेदवार तेस्रो स्थानमा थिए।
यस्तै, भक्तपुर नगरपालिकामा प्रमुखमा पनि नेमकिपाका सुनिल प्रजापति निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलालाई २५ हजार ८४५ मतान्तरले पराजित गरेका थिए। प्रजापतिले २९ हजार २५२ मत ल्याउँदा पराजित कासुलाले ३ हजार ४०७ मत ल्याएका थिए। उपप्रमुखमा विजयी नेमकिपाकी रजनी जोशीले २९ हजार ७५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याएकी थिइन्।
आफ्नो क्षेत्रमा सहजै चुनाव जित्ने विश्वासमा रहेका प्रेम सुवाल देशको अवस्थाप्रति भने चिन्तित देखिन्छन्।
‘चुनाव त यसअघि पनि लड्दै आएको हो। ३६ वर्ष भयो बहुदल आएको। चुनाव त आउँछ, जान्छ। मुख्य कुरा जनताले के पाए भन्ने हो। सत्ताधारीहरूले राम्रो काम गरेनन्। खाली प्रधानमन्त्री, मन्त्री हुने, भागबण्डा गर्ने र देश लुट्ने मात्रै काम गरे’, सुवाल भन्छन्, ‘२८ खर्ब विदेशी ऋण छ। अहिले त ६ महिनामै ६ खर्ब थपिइसक्यो। १५ खर्बको व्यापार घाटा छ। देशका नदीनाला सस्तोमा बेचेर महंगोमा बिजुली किन्छन् शासकहरू। कृषिप्रधान देशमा हरेक वर्ष खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ।’
पार्टीले अघि सार्दै आएको समाजवादको कार्यक्रम नै आफ्नो मुख्य एजेन्डा भएको सुवाल सुनाउँछन्।
समाजवाद भनेको के हो? उनको व्याख्या छ- ‘मुख्य कुरा जनताको निस्वार्थ सेवा हो। उत्पादनका साधन र सेवा राष्ट्रियकरण हुनु हो। अहिले पनि देशको सम्पत्तिको मुख्य स्रोत ५-१० प्रतिशत मानिसको कब्जामा छ। राष्ट्रको सम्पत्ति आम मानिसको हुनुपर्छ। मानिसले देशभित्रै गरिखान पाउनुपर्छ।’
सुवालले भनेकै कुरा संसद् र सडकमा पनि उठाउँदै आएका छन्। र, त्यसलाई व्यावहारिक रुप दिने प्रयासमा छ, भक्तपुर नगरपालिका।
नेमकिपाले जित्दै आएको स्थानीय तह भक्तपुर नगरपालिका विकासको दृष्टिकोणले ‘नमूना नगरपालिका’ मानिन्छ। कतिपय स्थानीय तहका प्रतिनिधिहरू भक्तपुरको विकास मोडेल हेर्न आउँछन्।

नेमकिपाका स्थानीय नेता पाण्डव सुवाल भन्छन्, ‘भक्तपुरमा शिशु स्याहारदेखि कलेजसम्म नगरपालिकाले सञ्चालन गरेको छ। पूर्व प्राथमिक तहदेखि कलेज (ख्वप इन्जिनियरिङ कलेज) सम्म शुलभ ढंगले शिक्षा प्रदान गरिरहेको छ। नगरपालिकाले सञ्चालन गरेको ख्वप नगर अस्पताल २४ सै घण्टा नागरिक सेवामा क्रियाशील छ। अस्पताल र नगरपालिकाका स्वास्थ्यकर्मी घरघरै पुगेर नागरिकको स्वास्थ्यबारे रिपोर्ट ल्याउँछन्। त्यसका आधारमा अस्पतालले सेवा दिन्छ। अन्य अस्पतालमा स्वास्थ्य बिमाको समस्या आइरहन्छ। हाम्रो यहाँ बिमाको समस्या पनि छैन। सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिएको छ।’
यस्तै, भक्तपुर नगरपालिका सरसफाई र विकासको हिसाबले पनि नमूना रहेको उनको दाबी छ। भक्तपुरको विकासमा जनसहभागितालाई मुख्य जोड दिइएको उनी बताउँछन्।
‘अन्यत्र जस्तो यहाँ ठेक्कापट्टामा काम हुँदैन। नगरपालिकाले स्थानीय जनसहभागितामा विकास निर्माणको काम अगाडि बढाउँछ। कुनै पनि आयोजनामा जति खर्च लागेको हो, त्यति मात्रै भुक्तानी दिइन्छ। बढी रकम, फिर्ता हुन्छ’, उनी भन्छन्।
उनका अनुसार ठेकेदारले विकासका आयोजना ठेक्कामा लिने, अनावश्यक झुलाउने र लागतभन्दा बढी खर्च देखाएर भुक्तानी लिने समस्या भक्तपुरमा छैन।
स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म जनपक्षीय काम गरेको दाबी गर्ने नेमकिपा संगठनात्मक हिसाबले किन कमजोर छ त? अथवा पुरानो संगठनको आधार यो दलले किन जोगाउन सकेन?
यो प्रश्नमा सचिव प्रेम सुवाल चुनाव जितेको आधारमा मात्रै पार्टीको मूल्यांकन गर्न नहुने बताउँछन्। नेमकिपा साँघुरिँदै गएको कुरालाई उनले स्वीकार गरेनन्।
सुवाल भन्छन्, ‘यदी जितेको ठाउँमा मात्रै संगठन भएको मान्ने हो भने त कांग्रेस, एमालेले पनि ८०/९० ठाउँमा मात्रै जितेका छन् नि। त्यसबाहेक बाँकी ठाउँमा उनीहरूको संगठन छैन भन्ने?’
उनले थपे, ‘नेमकिपाले अहिले ५९ जिल्लाका १२१ स्थानमा उम्मेदवारी दिएको छ। जित हार भन्ने कुरा त जनताको हातमा छ। भक्तपुर बाहेक पार्टी साँघुरियो भन्ने कुरा गलत हो।’
यद्यपी नेमकिपाको संगठन भक्तपुरमा मात्र सीमित छैन। अहिले पनि यो दलबाट पश्चिम नेपालको दैलेख, जुम्ला, कालिकोट जस्ता जिल्लामा वडाअध्यक्ष छन्। भक्तपुरकै चाँगुनारायण र मध्यपुरमा पनि केही स्थानीय जनप्रतिनिधि निर्वाचित छन्। तर, भक्तपुर नगरपालिका जस्तो ‘क्लिनस्विप’ पार्ने अवस्था अन्यत्र छैन।
भक्तपुर नगरपालिकाकै मतका कारण नेमकिपाले प्रतिनिधि सभामा निरन्तर प्रतिनिधित्व गर्दै आएको छ भने अहिले पनि बागमती प्रदेश सभामा एक प्रत्यक्ष र दुई समानुपातिकसहित तीन जनालाई प्रतिनिधित्व गराएको छ। भक्तपुर नगरपालिकामा एकलौटी ढंगले स्थानीय सत्ता सञ्चालन गरिरहेको छ।
तर, विगतको चुनावमा सुवालसँग निकटतम प्रतिद्वन्दी रहेको नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्र भने संसदमा एकजनाको मात्रै प्रतिनिधित्व हुँदा नेमकिपाले संसदमा र सिंहदरबारमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँछन्। एक जना मात्रै सांसद हुँदा सिंहदरबारको अवसर र पहुँचबाट भक्तपुर–१ सधैँ बञ्चित भएको उनको गुनासो छ। यसपाली त्यहाँका मतदाताले मत बदलेर आफूलाई जिताउने मिश्रले दाबी गरे।
‘प्रतिनिधि सभामा प्रभावकारी भूमिका हुन सकेन। हस्तक्षेपकारी, समन्वयकारी भूमिका हुन सकेन। जसले गर्दा भक्तपुर १ नम्बर क्षेत्रका जनताले सोचेका कतिपय ख्वप विश्वविद्यालयका कुरा छन्, कतिपय सांस्कृतिक कुराहरू छन्। त्यसको कानुन बनाउन एकजनाबाट सम्भव भएन’ उनले भने, ‘संघीय सरकारका अवसरहरू, जिम्मेवारी पनि यो क्षेत्रका जनताले कहिल्यै नपाउने अवस्था भयो। त्यसकारण यसपालि मूलधारको राजनीतिक पार्टीलाई नै छान्नुपर्छ भन्ने उहाँहरू (मतदाता)को कुरा छ। यस्तो कुरा भएकोले म आशावादी छु।’
मिश्रले संसारका कतिपय सहरहरूको उदाहारण दिँदै स्थानीय स्तरमा क्षेत्रीय पार्टीको बाहुल्यता रहेपनि केन्द्रीय संसदमा राष्ट्रिय दलकै प्रतिनिधित्व हुँदा त्यहाँ विकास निर्माण र समृद्धि भएको बताए। भक्तपुर–१ मा पनि मतदाताले संसद र सरकारमा प्रभावकारी भूमिका खेल्नसक्ने दललाई रोज्ने उनको विश्वास छ।
उनले भने, ‘संसारका कतिपय सहरहरू जस्तो पेरिसमा भयो, बार्सिलोनामा, भेनिस सहरमा नगरपालिका चुनावमा स्थानीय वा क्षेत्रीय पार्टीहरूले जित्ने रहेछन् सधैँ। तर, केन्द्रीय संसदमा भने मूलधारका राष्ट्रिय पार्टीहरूलाई नै मतदाताले जिताउने रहेछन्। त्यसो गर्दा त्यहाँको समृद्धि, पर्यटन, रोजगारी, विकासमा फड्को मारेका छन् ति सहरहरूले। त्यो उदाहरणले हाम्रो यहाँ पनि संसदमा पनि प्रभावकारी भूमिका खेल्न सक्ने, विरोधका लागि विरोध मात्रै गरिरहने होइन, समन्वयकारी भूमिका खेल्न सक्ने, सिंहदरबारका अवसरमा पहुँच पुर्याउने, अथवा भक्तपुर–१ का जनताको लागि सिंहदरबारको ढोका यसपाली खोल्नुपर्छ भन्ने यहाँका मतदाताको सल्लाह छ।’
नयाँ दलका उम्मेदवारप्रति भने मतदाताले विश्वास नगर्ने उनको दाबी थियो।
चाँगुनारायण नगरपालिकाका पूर्वमेयरसमेत रहेका मिश्रले भने, ‘म यो क्षेत्रका जनताले राम्रोसँग चिनिएको मान्छे हुँ। चिन्दै नचिनेको जान्दै नजानेको मान्छेलाई जनताले छान्छन् जस्तो मलाई लाग्दैन।’
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यो क्षेत्रलाई जित्न सक्ने ठाउँको गणनामा नराखेको रास्वपाका एक नेताले बताए। काठमाडौँ उपत्याकाका १५ वटा निर्वाचन क्षेत्रमध्ये अधिकांशमा आफूहरूले जित्ने रास्वपाले दाबी गर्दै आएको छ। तर, भक्तपुर–१ लाई भने उसले जित्नसक्ने मात्रै होइन, प्रतिस्पर्धी क्षेत्रमा समेत नराखेको उनको भनाई छ।
समानुपातिकमा ११० जना र प्रत्यक्षतफ ५९ जिल्लामा उम्मेदवारी दिएको नेमकिपाको मुख्य ध्यान भने भक्तपुर-१ मै छ। ‘भादगाउँले राजा’ नेमकिपाको रणनीति आफ्नो गढ जोगाउने अर्थात् भक्तपुर-१ जित्ने र अन्यत्र संगठन विस्तार गर्ने देखिन्छ।
Shares

प्रतिक्रिया