नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा चुनावमा आफनो पार्टीले जित्ने बताएका छन्।
गोरखा-२ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब-करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताएका छन्।
आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिस्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे।
संयोजक प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको जिकिर गरे। जेनजी युवाहरूले पनि ३ प्रमुख दलमध्ये नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको दाबी गरे।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए।
मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे।
Shares

प्रतिक्रिया