नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि १० जना उम्मेदवार 'सर्टलिस्ट' मा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार राति ९ बजे संक्षिप्त सूची सार्वजनिक गर्दै अन्तिम प्रतिस्पर्धाको बाटो खोलेको हो।
निवेदनमध्येबाट सर्टलिष्ट निकाल्न मन्त्रालयलाइ निकै सकस परेको थियो। आइतबार मध्यरात १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै थियो। त्योभन्दा अगाडि काम पूरा नगरे यो सरकारले निर्णय गर्न पाउँदैनथ्यो। तर पर्यटन मन्त्रालयमा रातिसम्म काम भयो।
खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बन्न १६ जनाले आवेदन दिएका थिए। तीमध्ये कार्यविधिको मापदण्ड पुगेका १० जना छानिएका हुन्।
सर्टलिस्टमा उपेन्द्र बहादुर कार्की, टंकमणि दाहाल, डा. दीपकप्रसाद बास्तोला र दिपराज ज्वारचन परेका छन्। त्यस्तै डा. भीमबहादुर चन्द, योगराज केण्डेल शर्मा, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत पनि अन्तिम दौडमा छन्।
उनीहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति माघ १४ गतेका लागि तय गरिएको छ। नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया चलिरहँदा निगमको अवस्था भने जर्जर छ।
निगमका अन्तर्राष्ट्रिय उडान भर्ने चारवटा जहाजमध्ये प्रायस् कुनै न कुनै जहाज 'ग्राउन्डेड' भइरहने समस्या छ। इन्जिन मर्मतको नाममा हुने ढिलासुस्ती र कमिसनको खेलले निगमलाई अर्बौँको घाटामा पुर्याएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाउनुपर्ने अर्बौ रूपैयाँ किस्ता र ब्याजका कारण निगमको वित्तीय अवस्था नियन्त्रण बाहिर जाने जोखिममा छ।
विगतमा भएका नियुक्तिहरूमा योग्यताभन्दा 'राजनीतिक पहुँच' हाबी हुँदा निगमले व्यावसायिक गति समाप्तन सकेको छैन। महाप्रबन्धक फेरिएपिच्छे फरक-फरक स्वार्थ समूह सक्रिय हुँदा दीर्घकालीन योजनाहरू कागजमै सीमित छन्।
सर्टलिस्टमा परेका १० मध्ये जो छानिए पनि निगमभित्रको भ्रष्टाचार र बिचौलियाको सेटिङ भत्काउनुपर्ने प्राथमिक जिम्मेवारी हुनेछ।
आइतबार राति निकालिएको सूचना
Shares

प्रतिक्रिया