राजनीति


कांग्रेस इतर पक्षको बैठकमा नयाँ पार्टी बनाउनुपर्ने मत

कांग्रेस इतर पक्षको बैठकमा नयाँ पार्टी बनाउनुपर्ने मत

नेपालखबर
असार २३, २०८३ मंगलबार १८:१६, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा नयाँ पार्टी बनाउनुपर्नेमा नेताहरूले जोड दिएका छन्। 

उनीहरू एकता सम्भव नभएमा विकल्प खोज्न शीर्षनेतालाई सुझाव दिएका छन्। पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने उनीहरूको मत थियो। 

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा बोलेका नेताहरूले निर्णय गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन्। दोस्रो दिनको बैठकमा बोलेका अधिकांश नेताहरूले एकता वा नयाँ पार्टीबारे छिटो निर्णय गर्नुपर्ने धारणा राखेका छन्। 

‘अधिकांश त वक्ताहरूको कुरा नै के छ भने अब अलमल नगरौँ, जे गर्ने हो छिटो गरौँ भन्ने छ,’ नेता मिनबहादुर विश्वकर्माले भने। 

उनले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा पाँच जना नेताले धारणा राखेको बताए। सबैले पार्टी एकताबारे चिन्ता जनाएको उनको भनाइ छ। 

‘पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ? एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ,’ उनले भने।

कांग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुपर्ने, साझा निर्णय गर्नुपर्ने, वैकल्पिक शक्ति निर्माण गर्नुपरे वा वैकल्पिक संगठन नै निर्माण गर्नुपरे पनि अब हच्किनु नहुने उनीहरूले धारणा राखेको विश्वकर्माले बताए। 

‘नेपाली कांग्रेसलाई निरन्तरता दिएर अगाडि लैजानका लागि सबै नेताहरू एकठाउँ बस्नुपर्‍यो, साझा निर्णय गर्नुपर्‍यो र वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनु हुँदैन अथवा त्यसमा हामी धेरै आशंकाहरू गर्नु हुँदैन, लिएर अगाडि जानुपर्छ भन्ने राय अधिकांश वक्ता साथीहरूको आएको छ,’ उनले भने। 

सोमबारदेखि सुरु भएको बैठक बुधबार पनि जारी रहने भएको छ। बुधबार दिउँसो २ बजे चुनदेवीस्थित सम्पर्क कार्याल्यमा बैठक बस्ने विश्वकर्माले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad