नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश सरकारहरू हेरफेर गर्ने तयारी गरेका छन्।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस र एमालेबीच भएको आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमतिअनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने खुलासा गरेका छन्।
उनका अनुसार साउनको पहिलो सातादेखि नै प्रदेश सरकारको हेरफेर थालिनेछ।
मधेस प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको नेता थपलियाले बताए।
‘नेकपा (एमाले) र नेपाली कांग्रेस गठबन्धनको सरकारले विगत एक वर्षदेखि काम गरिरहेको छ। सबै प्रदेशमा आलोपालो सरकार चलाउने जुन पूर्वसहमति छ, त्यसैअनुसार कुन कुन प्रदेशमा कस कसले पाउँछन्, त्यहीअनुसार फेरबदल हुन्छ,’ थपलियाले भने, ‘मधेस प्रदेशमा हालै मात्र सरकार गठन भएको कारण त्यहाँ फेरबदल हुने सम्भावना छैन। सोही पूर्वसहमतिअनुसार साउन पहिलो हप्तादेखि नै मधेसबाहेक सबै प्रदेशले नयाँ सरकार पाउनेछन्।’
कुन प्रदेश कसले लिने र कहाँ न्यायोचित हुन्छ भन्ने विषयमा दुवै दलका शीर्ष नेतृत्वबिच छलफल भएर पार्टीले निर्णय गर्ने उनले स्पष्ट पारे।
बागमती प्रदेशमा यसअघि एमालेको समर्थनमा अन्य दलबाट मुख्यमन्त्री बनिसकेकाले अबको सरकार एमालेले नै बनाउने उनको दाबी छ।
संसदीय प्रणालीअनुसार प्रदेश संसदीय दलको नेताले नै मुख्यमन्त्री पाउने भन्दै थपलियाले बागमती प्रदेशको मुख्यमन्त्रीमा स्वाभाविक रूपमा आफ्नो दाबी रहेको बताए।
Shares

प्रतिक्रिया