राजनीति


एडीबी अध्यक्षको नेपाल भ्रमण: बालेनसँग ‘वान-अन-वान’ वार्ता, सघन आर्थिक सहयोगको वचन

एडीबी अध्यक्षको नेपाल भ्रमण: बालेनसँग ‘वान-अन-वान’ वार्ता, सघन आर्थिक सहयोगको वचन

नेपालखबर
असार २३, २०८३ मंगलबार १५:३४, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी)ले नेपालको विकासमा गर्दै आएको आर्थिक सहयोग तीन वर्षमा साढे तीन खर्ब रुपैयाँभन्दा बढी पुग्ने बताएको छ।

एडीबीले सन् २०२५-२०२९ को नेपालका लागि कन्ट्री पार्टनरसिप स्ट्राटेजीअन्तर्गत कुल २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) सहयोग परिचालन गर्ने योजना रहेको बताएको छ। 

एडीबीका अध्यक्ष मासातो कान्दाले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेपछि एडीबीले प्रकाशन गरेको बक्तव्यमा भनिएको छ, ‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ। सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलरसम्म (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) पुग्ने अपेक्षा गरिएको छ।’ 

नेपालमा थप रोजगारी सिर्जना गर्न, व्यवसाय सुदृढीकरण र नेपालभरका समुदायको जीविकोपार्जनमा सुधार गर्नका लागि उक्त सहयोगको प्राथमिकता रहने एडीबीले उल्लेख गरेको छ। एडीबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा एडीबी अध्यक्ष कान्दा र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको एडीबीको वक्तव्यमा उल्लेख छ। 

प्रधानमन्त्री शाहसँग भेटेपछि अध्यक्ष कान्दाले सामाजिक सञ्चाल एक्समा नेपालका प्रधामन्त्रीको भिजनलाई व्यावहारिक कार्यान्वयनमा सघाउन एडीबीको सहयोग परिचालन हुने उल्लेख गरेका छन्। 

शाह र कान्दाबीचको भेटमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी विस्तारमा एडीबीको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बनाइएको छ। 

‘नेपाल अहिले आफ्नो अर्थतन्त्रलाई अझ गतिशील र उत्थानशील बनाउने ऐतिहासिक अवसरको मोडमा उभिएको छ,’ कान्दालाई उदृत गर्दै वक्तव्यमा भनिएको छ, ‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ। यस वर्ष वार्षिक ऋण प्रवाह ६६ करोड अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ।’

कान्दाको नेपाल भ्रमणको क्रममा वार्षिक प्रतिबद्धताअन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर (१६५ मिलियन डलर) बराबरका दुई वटा ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। तीमध्ये ११ करोड ५० लाख डलरको परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो र सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने कार्यक्रममा खर्च हुनेछ। 

त्यस्तै, ५ करोड अमेरिकी डलर ऋण भने नेपालको सीमावर्ती व्यापार प्रणालीलाई आधुनिकीकरण गर्दै डिजिटलीकरण र प्रक्रियागत सरलीकरणमार्फत व्यवसायको लागत घटाउने, कार्यक्षमता बढाउने र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने काममा खर्च हुनेछ। अध्यक्ष कान्दाले नेपालमा एडीबीको लगानीमा सञ्चालित विभिन्न परियोजनाको स्थलगत अवलोकन पनि गरेका छन्। 

त्यसैगरी, कान्दाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योससँगै काठमाडौँको विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गरेका थिए। 

त्यसैगरी, २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको विश्व निकेतन स्कूलको अवलोकन पनि कान्दाले गरेको थिए। त्यहाँ उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्वागत गरेका थिए। 

एडीबीले विश्व निकेतनमा गरेको सहयोगलाई विपद् जोखिम व्यवस्थापन र मानव पूँजी विकासमा गरिएको लगानीको रुपमा व्याख्या गरेको छ। 

कान्दाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा नेपालले गरिरहेको सुधार, व्यावसायिक वातावरण, लगानी परिचालन तथा आर्थिक वृद्धि र उत्थानशीलता प्रवद्र्धनका लागि सरकारका प्राथमिकतामा एडीबीको सहयोगबारे छलफल भएको थियो।

आगामी दिनमा एडीबीले गर्ने सहयोग रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशीलता, महिला तथा सीमान्तकृत र कमजोर समुदायको सशक्तीकरणमा केन्द्रित हुने एडीबीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad