प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकले मुलुकभर कोरोना सङ्क्रमणको आकलन नगरी सामान्य अवस्था नभएसम्म विद्यार्थी भर्ना नगर्न, औपचारिक पठनपाठन सञ्चालन नगर्न र परीक्षा सञ्चालन नगर्न÷नगराउने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
बैठकमा सांसदले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन सुरु गरेको, अनलाइन कक्षा सुरु गरेको, शुल्क लिन थालेको भन्ने गुनासो सुनिएकाले यसलाई तत्काल रोक्नुपर्ने बताए। साथै मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने भन्दै अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरे विद्यार्थीप्रति पक्षपात व्यवहार हुने विचार राखे। रासस
तर अनलाइनमार्फत शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गरी सिर्जनशील बनाउन सिकाउने, बालबालिकालाई व्यस्त बनाउन सकिने धारणा सांसदले व्यक्त गरे।
बैठकले कोरोना सङ्क्रमणका कारण एसईई, कक्षा ११ र कक्षा १२ का परीक्षा सञ्चालन हुने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै तत्काल परीक्षा सञ्चालन नगराउनसमेत निर्देशन दिएको छ।
बैठकले सम्बन्धित विज्ञसँग आवश्यक परामर्श र छलफल गरी विद्यार्थीको भर्ना, पठनपाठन र परीक्षा सञ्चालन गर्नेबारेमा विस्तृत खाका बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया