वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अघिल्लो बैठकको सहमतिअनुसार अघि बढ्न आग्रह गरेपछि बुधबार नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ।
बिहीबार बस्ने तय भएको स्थायी समिति बैठकका एजेण्डमा सहमति गर्न बुधबार आयोजना गरिएको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री ओली बीचमै उठेर हिंडेका हुन्। बैठक सुरु गर्दै ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटअघि पार्टीको सचिवालय बैठक आवश्यक नरहेको बताएका थिए।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठकको संयुक्त अध्यक्षता गरिरहेका ओली उठेर हिंडेपछि बिना निष्कर्ष बैठक टुंगिएको हो। लगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएपनि बिहीबार स्थायी समिति बैठक आयोजना गर्ने सहमती हुन सकेन।
सचिवालय बैठकपछि बालुवाटारमै रहेका महासचिव विष्णु पौडेलले बिहीबारको स्थायी समिति बैठक पछि सरेको बताए।
‘भोली बैठक हुँदैन, दुई जना अध्यक्षको सहमतीमा एक दुई दिनपछि स्थायी समिति बैठकको मिति तोकिन्छ’, महासचिव पौडेलले नेपालखबरसँग भने।
स्थायी समिति बैठकको एजेण्डा तय गर्न आयोजना गर्न बसेको सचिवालयमै विवाद भएपछि नेकपामा अन्यौल झन् बढेको छ। दुई अध्यक्षबीच कहिले सहमति हुन्छ र स्थायी समिति बस्छ भन्ने निश्चित छैन। सचिवालयले तय गर्न नसकेको स्थायी समितिको एजेण्डा अब कसरी तय हुन्छ भन्ने पनि प्रष्ट छैन।

नेकपा सचिवालयका एक जना सदस्यका अनुसार प्रधानमन्त्री ओली वैशाख २० गतेको सचिवालय बैठकको सहमती र भावनाबाट पछि हटेपछि बुधबारको बैठक भाँडिएको हो।
२० गतेको बैठकमा आफुबाट गल्ती भएको भन्दै आत्मआलोचना गरेका प्रधानमन्त्री ओलीले पार्टीको निर्देशन अनुसार सहमतीमा सरकार चलाउन तयार रहेको बताएका थिए। त्यही दिन बैठकअघि ओलीले प्रचण्डसँग आफु एक व्यक्ति एक जिम्मेवारीअनुसार अगाडि बढ्न तयार रहेको भन्दै प्रचण्डले कार्यकारी अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने र आफुले पाँच वर्ष सरकार सञ्चालन गर्ने सहमतिमा अगाडि बढ्न आग्रह गरेका थिए।
त्यसलगत्तै ओली र प्रचण्डबीच केही चरण भेटवार्ताहरू भएका थिए, जसमा ओली २० गतेको सहमतिअनुसार अगाडि बढ्न तयार नरहेको आरोप प्रचण्ड–माधव नेपाल पक्षले लगाउन थालेका थिए। त्यसपछि बुधबार सचिवालय बैठकमा पार्टी एकता र सहमतिको खाका माग्ने र त्यसअनुसार बिहीबार स्थायी समिति बैठकमा प्रस्तुत हुने तयारी नेपालले गरेका थिए।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख २० गतेको सचिवालय बैठकको भावना र सहमतिअनुसार अगाडि बढ्नुपर्ने भनाइ वरिष्ठ नेता माधव नेपालले राखेका थिए। जसमा ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणाअनुसार स्थायी समिति बैठकको एजेण्डा तय हुनुपर्ने अडान थियो।
‘एक व्यक्ति एक जिम्मेवारी अनुसार अगाडि बढ्ने सहमति गर्ने अनि त्यसलाई पालना नगर्ने किन भइरहेको छ?’ सचिवालयका ती सदस्यले नेपालको भनाइ उधृत गर्दै भने, ‘स्थायी समिति बैठक टार्न प्रधानमन्त्रीले प्रयास गर्नुभएकै हो, कहिले को कहिले को नेता बालुवाटार बोलाएर भुल्याउन खोज्ने नेतृत्वको व्यवहार राम्रो भएन।’
२० गतेको बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा उभिएर पार्टीभित्रको समकिरण नै उल्टाएका उपाध्यक्ष वामदेव गौतमले आजको बैठकमा फेरि माधव नेपालसँग मिल्ने गरी आफ्नो भनाइ राखे।
‘प्रधानमन्त्रीले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गर्नुभएको छ,’ बैठकमा गौतमको भनाइ उधृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिलेको अवस्थामा यसरी हुँदैन, यसअघिको आत्मआलोचनाको भावनाअनुसार अगाडि बढ्नैपर्छ।’
नेपाल र गौतमले आफ्ना भनाइ राखेपछि प्रधानमन्त्री ओली बैठकस्थल नै छोडेर बाहिरिए।
‘बैठक सुरु भएको करिब १५ मिनेटपछि मलाई टाउको दुख्यो, म थाकेँ, आराम गर्छु भन्दै प्रधानमन्त्री बाहिरिनु भयो’, सचिवालयका ती सदस्यले थपे।
ओली बाहिरिएको आधा घण्टामा बैठक स्थगित भयो। नेपाल, गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट हिंडेपछि दुई अध्यक्षबीच छुट्टै छलफल भयो। तर भोली स्थायी समिति बैठक आयोजना गर्ने सहमति हुन सकेन।
प्रधानमन्त्री ओली सचिवालय बैठक छोडेर हिंडेपछि स्थायी समिति बैठक अलपत्र परेको भन्दै सचिवालयका एक सदस्यले यसरी सहमतिबाट भाग्न खोजेर समस्या समाधान नहुने बताएका छन्।
‘२० गतेको बैठकमा आत्मआलोचना गर्दै प्रधानमन्त्री ओलीले सहमतिमा जाने प्रतिवद्धता गर्नु भएको थियो, आज त्यसबाट पूरै पछि हटेको देखियो,’ उनले भने, ‘आफ्नै प्रस्ताव र निर्णयबाट भागेर कसरी समस्या समाधान हुन्छ?’
वरिष्ठ नेता झलनाथ खनालले चाहिँ बैठकमा प्रधानमन्त्री ओलीले आफू थाकेको बताएपछि कुनै निर्णय नगरिएको बताए। खनालले बैठक सुरु भएको १५ मिनेटमै ओली बैठक कक्षबाट बाहिरिएकाले स्थायी समितिको बैठकको विषयमा छलफल नै हुन नपाएको बताए।
‘आज केही पनि भएन, प्रधानमन्त्री थाकेँ भनेर बैठक छोडेर हिँड्नुभयो, उहाँलाई हामीले पर्खियौं’, खनालले नेपालखबरसँग भने, ‘आधा घण्टाभन्दा बढी समय पर्खँदा पनि प्रधानमन्त्री आउनुभएन, स्थायी समितिको बैठकबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिएर हामी बालुवाटारबाट हिड्यौं।’
खनालका अनुसार ‘म आज थाकेको छु, जान्छु’ भन्दै ओली बाहिरिएका थिए।
‘सके केहीबेरमा आउँछु भनेर छिट्टै हिंड्नुभयो तर आउनुभएन, पार्टीका बारेमा छलफल गर्दै हामी आधा घण्टा कुरेर बस्यौं’, खनालले भने।
बालुवाटार बैठक भाँडिएपछि सचिवालयका बहुमत सदस्यले स्थायी समितिको बैठक राख्नै पर्ने सुझाव अर्का अध्यक्ष प्रचण्डलाई दिएको बुझिएको छ। तर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षको सहमती बेगर स्थायी समिति बैठक बस्न सक्ने देखिँदैन।
‘अध्यक्ष प्रचण्ड र सचिवालयका अन्य सदस्यहरुले स्थायी समिति बैठक राखेर सबै समस्या टुंगो लगाउनुपर्छ भन्ने माग यथावत छ,’ सचिवालय अर्का एक सदस्यले भने।

प्रतिक्रिया