नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मातहतका समितिबाट सिफारिस भएको व्यक्तिलाई नै उम्मेदवार बनाउने भएको छ। कांग्रेस सभापति गगन थापा नेतृत्वको संसदीय बोर्डले पार्टीका मातहत समितिबाट आएका सिफारिस बमोजिम नै उम्मेदवार तय गर्न लागेको हो।
कांग्रेसको आन्तरिक विवादबीच विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष कानुनी र राजनीति संघर्षमा उत्रिएको छ। यस्तो वेला उम्मेदवारका लागि भएको पूर्ववत् सिफारिस के हुन्छ भन्ने अन्योल थियो।
गत मंसिर १५ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार मंसिर १७ गते मातहतका लागि समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन भएको थियो। मंसिर मसान्तभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस पठाउन समय दिइएको थियो।
त्यस सर्कुलर अनुसार प्रतिनिधि सभा समानुपातिक र राष्ट्रिय सभामा तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा उम्मेदवार चयन गरिसकिएको छ। माघ ११ मा हुने राष्ट्रिय सभामा नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर ९ सिटमा कांग्रेसले उम्मेदवारी दिएको छ भने प्रतिनिधि सभाको समानुपातिकमा ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ। यसअघि तय गरिएको राष्ट्रिय सभा र प्रतिनिधि सभा समानुपातिक उम्मेदवारको स्वामित्व थापा नेतृत्वको नयाँ कार्यसमितिले ग्रहण गरेर जाने भएको छ।
नवनिर्वाचित कार्यसमितिको आज बसेको बैठकले संसदीय बोर्ड बनाएर प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारी थालेको सहमहामन्त्री योगेन्द्र चौधरीले नेपालखबरलाई बताए। मातहत समितिबाट विधान अनुरूप योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन भएको थियो। तर, अधिकांश शीर्षनेता नाममा एकल सिफारिस आएको छ भने उम्मेदवारको दाबेदार धेरै भएको ठाउँमा दर्जनभन्दा बढीको नाम केन्द्रमा पठाएको छ।
सभापति थापासहित नेताहरुले आज हिमाली क्षेत्र र दुर्गमका पहाडी जिल्लाका प्रतिनिधि सभा उम्मेदवारको करिब टुंगो लगाएका छन्। चौधरीका अनुसार १६५ क्षेत्रबाटै सिफारिस भएको नाममाथि तीन चरणमा छनोटको काम सकिएको छ।
पदाधिकारीहरुले सर्वसम्मत सिफारिस भएका उम्मेदवारको सूची बनाएर चुनाव नलड्ने घोषणाा गरेकाहरुका हकमा तलबाट नयाँ नाम मागेका छन्। उपसभापति विश्वप्रकाश शर्माले झापा १ बाट चुनाव नलड्ने घोषणा गरेपछि आज नयाँ नाम सिफारिस गरिएको छ।
विवादरहित ढंगले आएको सिफारिसको नाममाथि आवश्यक छलफल गरेर एक जनाको नाम टुंग्याउने तयारी छ भने सिफारिसमै विवाद भएका क्षेत्र र उम्मेदवारको नाम छलफल गरी सर्टलिस्टमा राखिएको छ।
गगनले बढाए अनौपचारिक संवाद
सभापति थापा र उपसभापति शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरूसँग अनौपचारिक संवाद पनि अगाडि बढाएका छन्। सभापति थापाले कोइरालाका नजिकका नेता डा. गोविन्द पोखरेलसँग आज फोनमा संवाद गरेका थिए।
यता देउवा पक्षका नेताहरूसँग पनि सभापति थापा र उपसभापति शर्मा संवादमा रहेको बुझिएको छ। थापा निकट स्रोतले भन्यो, ‘अहिले सिधै शेरबहादुर देउवा र शेखर कोइरालासँग कुरा भएको छैन। उहाँका नजिकका मान्छेसँग कुरा भइरहेको छ। गगन दाइले विस्तारै उहाँहरूसँग पनि संवाद गर्नुहुन्छ। सबैलाई मिलाएर लैजान लागि राख्नुभएको छ।’
थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध देउवा र कोइराला पक्षले आइतबार सर्वोच्च अदालत जाने निर्णय गरिसकेको छ। कोइराला समूहका नेता बलबहादुर केसीले निर्वाचनका विषयमा सर्वोच्चबाट आउने आदेशअनुसार अगाडि बढ्ने बताए।
‘हामी कांग्रेसको विरुद्धमा होइन, अवैधानिक कार्यसमितिलाई वैधानिकता दिने आयोगको निर्णयमा सर्वोच्च अदालत जाने हो। चुनावमा को जाने को नजाने कुरा व्यक्तिगत विषय हो’, केसीले नेपालखबरसँग भने।
शनिबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले बहुमत केन्द्रीय सदस्यको नागरिकता संकलन गरेर आइतबार सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
स्रोतका अनुसार सर्वोच्चको आदेश नआउनुअघि सभापति थापा लगायतलाई नभेट्ने मुडमा देउवा छन्। महामन्त्रीबाट पाँच वर्षका लागि आफैंले कारबाही गरेका सभापति थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्न देउवा पक्षका नेताहरू संकोच मानिराखेको देखिन्छ।
देउवा पक्षका नेता डा. प्रकाशशरण महतले आयोगको निर्णय अन्यायपूर्ण रहेको भन्दै सर्वोच्च अदालतबाट अन्तरिम आदेश आउनेमा आफूहरू ढुक्क रहेको बताए। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानीमा महतले सर्वोच्च अदालतले न्यायको पक्षमा निर्णय दिन्छ भन्ने आफूहरु विश्वस्थ रहेको बताए।
‘भोलि नै स्टे अर्डर आउन सक्छ। सर्वोच्चको निर्णय नआउन्जेलसम्म अब के छोड्ने के नछोड्ने भन्ने कुरा भएन, हामी आधिकारिक नेपाली कांग्रेस हौँ। हामी कानुनी लडाइँ लड्छौँ, राजनीतिक रूपमा पनि प्रतिरोध गर्ने विभिन्न स्वरूप हुन सक्छन्, त्यसमा हामी छलफल गर्छौं,’ उनले भने।
Shares

प्रतिक्रिया