राजनीति


एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति गगन थापाको अपिल

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति गगन थापाको अपिल

नेपालखबर
माघ २, २०८२ शुक्रबार २१:२०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई नै वैधानिकता दिएपछि सबैलाई एकजुट हुन आह्वान गरेका हुन्। 

निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै सभापति थापाले आभार व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सदस्यहरू र शुभेच्छुकले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको थापाले भनेका छन्। 

‘यसले स्थापित गरेको छ–पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ’, थापाको अपिलमा भनिएको छ, ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका–नहुनुभएका, सहमत हुनुभएका–नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु – यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन – कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं।’

अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको र रिफर्मको यात्रा शुरु भइसकेको थापाको दाबी छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्ने सभापति थापाले बताएका छन्। 

थापाले अब नेपाली कांग्रेसलाई अगाडी बढाउन पूर्वसभापति शेरबहादुर देउवा लगायत पार्टीमा आवद्ध विभिन्न तह र निकायमा रहेका नेताकार्यकर्ताबाट साथ पाउने विश्वास व्यक्त गरेका छन्। 

पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहने गगनको विश्वास छ।

‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन – जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ’, थापाले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र बाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ।’

नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्ने प्रतिवद्धता गर्दै सभापति थापाले भनेका छन्, ‘एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ।’

अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने थापाको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad