राजनीति


कांग्रेसको एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई खड्काको अपिल

कांग्रेसको एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई खड्काको अपिल

नेपालखबर
पुस २८, २०८२ सोमबार १५:३६, काठमाडौँ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपिल गरेका छन्। 

कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका छन्। विशेष महाधिवेशनमा सहभागीलाई अपिल गर्दै खड्काले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।’

आउँदो वैशाखमा हुने १५औँ महाधिवेशनबाट सहज रुपमा नेतृत्व परिवर्तन गर्न सकिने उल्लेख गर्दै अहिले एकताबद्ध भएर लाग्नुपर्ने अवस्था रहेको उनले औँल्याएका छन्। ‘नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरि एक पटक ऐतिहासिक जिम्मेवारी आएको छ,’ कार्यवाहक सभापति खड्काले भनेका छन्, ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ। तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ।’

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अपिल:

अहिले मुलुक गम्भीर अवस्थामा छ। देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा विघटन भएको छ। अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ। उक्त निर्वाचन मार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्न आवश्यक छ।

यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ। नेपाली कांग्रेसले देशमा बिषम परिस्थिति उत्पन्न भएको वेला ईतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सहि मूल्यांकन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो ईतिहास छ।

नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ। तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ।

नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad