राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
पुस १३ गते रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खस/आर्य समूहतर्फ पहिलो नम्बरमा थिए।
तर, आफैँ समानुपातिक उम्मेदवार खोज्ने समितिमा रहेर आफैँ पहिलो नम्बरमा बसेको भन्दै उनको चर्को आलोचना भएको थियो। निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको आज अन्तिम दिनमा उनले नाम फिर्ता लिएका हुन्।
आचार्यले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेर नाम फिर्ता लिएका हुन्। उनले अब प्रत्यक्ष चुनाव लड्ने बताएका छन्।
‘समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘साथ र सहयोगको अपेक्षा गर्दछु।’
उनी दाङका हुन्। दाङमा ३ वटा निर्वाचन क्षेत्र छन्। अब ती मध्य कुनै एक क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने छन्।
Shares

प्रतिक्रिया