राजनीति


नेकपा र जनमोर्चाबीच चुनावी तालमेलको पहल

नेकपा र जनमोर्चाबीच चुनावी तालमेलको पहल

नेपालखबर
पुस २४, २०८२ बिहिबार २१:४९, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बिहीबार काठमाडौंको धुम्बाराहीमा भएको भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जनाएका छन्।

त्यसक्रममा नेताहरूबीच भेनेजुयला प्रकरण, आगामी निर्वाचन लगायतका विषयमा कुराकानी भएको प्रवक्ता पुरीले बताए। 

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि अमेरिकी कारबाहीबारे दुई दलबीच समान धारणा छ। दुवै दलले भेनेजुयलामाथि अमेरिकाले ‘साम्राज्यवादी हस्तक्षेप’ गरेको बताएका छन्। नेकपा र नेकपा मसालले भेनेजुयलाको सार्वभौमिकतालाई सम्मान गर्न र राष्ट्रपति मदुरोको ससम्मान रिहाई गर्न अमेरिकासँग माग गरेका छन्। 

सो प्रकरणमा आगामी दिनमा विरोधका कार्यक्रम गर्ने समझदारी भएको मसाल प्रवक्ता पुरीले बताए।

‘आज सामान्य छलफल भयो। यस विषयमा हामी भोलि पुनः बसेर ठोस कार्यक्रम बनाउँछौँ’ पुरीले भने, ‘भेनेजुयला प्रकरण केवल एउटा देशको मात्रै विषय होइन, विश्वभर भइरहेको साम्राज्यवादी हस्तक्षेपको विषय हो। नेपालमाथि पनि अहिले अमेरिकी साम्राज्यवादी हस्तक्षेप नाङ्गो रुपमा देखा परेको छ। यस विषयमा मिल्नसक्ने शक्तिहरूसँग संयुक्त कार्यक्रम गर्ने हाम्रो योजना छ।’

यस्तै, बैठकमा आगामी निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच तामेलको सम्भावना बारे पनि छलफल भएको पुरीले जानकारी दिए। 

उनले भने, ‘फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मिलेर जान सकिन्छ कि भन्ने विषयमा साथीहरूले कुरा राख्नुभयो। विगतमा गठबन्धनबाटै पाएको धोकाबारे पनि कुराकारी भयो। ठोस सहमति भने भएको छैन तर छलफल सकारात्मक छ।’

गएको २०७९ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा र हाल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृतसहितका पाँच दलबीच चुनावी तालमेल भएको थियो। तर, गठबन्धनबाट धोका पाउँदा प्युठानमा हार ब्यहोर्नुपरेको जनमोर्चाले बताउँदै आएको छ।

बिहीबार भएको भेटवार्तामा नेकपाका सहसंयोजक नेपालसहित नेताहरू प्रमेश हमाल, चिरन पुन, देवेन्द्र पौडेललगायत सहभागी थिए भने मसाल महामन्त्री सिंहसहित प्रवक्ता पुरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, सचिव घनश्याम न्यौपाने, नेताहरू भैरव रेग्मी, आनन्द शर्मा, वाशुदेव पोखरेललगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad