राजनीति


वामदेवदेखि नारायणकाजीसम्म: यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सांसद

कार्यकाल सकिन लागेका १८ पदमा आज मनोनयन
वामदेवदेखि नारायणकाजीसम्म: यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका १९ सांसद

नेपालखबर
पुस २३, २०८२ बुधबार ७:४६, काठमाडौँ

राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। 

रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारको मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ।

पदावधि सकिन लागेका १९ सिटमध्ये १८ सिटमा मात्रै निर्वाचन हुन लागेको हो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्नेछन्।

आगामी फागनुदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो। 

रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले सांसद मनोनित गर्नेछन्। 

कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

भुसाल तत्कालीन एकीकृत समाजवादीबाट राष्ट्रियसभाको सांसद भएका नेता हुन् भने बाँकी सात जना तत्कालीन माओवादी केन्द्रका सांसद हुन्। 

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ मध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। 

कांग्रेस, एमाले, नेकपा, जसपासहितका दलले सिट बाँडफाँट गरेर १८ सिटमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। त्यसैअनुसार आज उम्मेदवारी दिने उनीहरूको तयारी छ। 

कार्यकाल सकिन लागेका सांसदमा कांग्रेसका एकजना पनि छैनन्।

तर, कांग्रेस अहिले मतभारमा सबैभन्दा अगाडि छ। राष्ट्रिसभा सदस्य निर्वाचनमा प्रदेश सांसद, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। 

२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad