राजनीति


गगन-विश्वप्रकाश पक्षका नेता-कार्यकर्तालाई गेटमै रोकियो, कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन

गगन-विश्वप्रकाश पक्षका नेता-कार्यकर्तालाई गेटमै रोकियो, कांग्रेस केन्द्रीय कार्यालयमा प्रहरी परिचालन

कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्ने क्रममा मंगलबार भएको घम्साघम्सी


नेपालखबर
पुस २२, २०८२ मंगलबार १४:२०, काठमाडौँ

नेपाली कांग्रेसभित्रमा  नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विवादका बीच मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन वा दबाब दिन पुगेका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रहरी र पार्टी प्रशासनले गेटमै रोकेको छ।

नेपाली कांग्रेस विधानअनुसार चार वर्षभित्र (२०८२ मंसिरसम्म) १५ औँ महाधिवेशन हुनुपर्ने प्रावधान छ। तर, पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीच वैचारिक र रणनीतिक दूरी बढ्दै गएपछि विशेष महाधिवेशन'को अजेन्डा सतहमा आएको थियो।

मंगलबार सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको थियो। बैठक सुरु हुनुपूर्व नै विशेष महाधिवेशन पक्षधर नेताहरू र केही महाधिवेशन प्रतिनिधि कार्यालय पुगेका थिए। उनीहरूले नेतृत्वलाई दवाब दिने र आफ्ना मागहरू राख्ने तयारी गरेका थिए। यो कुराको सुइँको थाहा पाएपछि प्रवेशमा कडाइँ गरिएको विशेष महाधिवेशन पक्षधरहरूले जनाएका छन्।

पार्टी कार्यालयको गेटमा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। भित्र बैठक चल्दै गर्दा बाहिर रहेका नेतालाई प्रवेशमा रोक लगाइएको छ। आफ्नै पार्टी कार्यालयमा नेताहरू रोकिएपछि सानेपा परिसर केही बेर नाराबाजी र तनावले तातिएको थियो। भित्र पस्न नपाएका नेताहरूले यसलाई 'नेतृत्वको अनुदारवादी र निरंकुश चरित्र' भन्दै आलोचना गरेका छन्। उनीहरूले नेता विमलेन्द्र निधिविरूद्ध नाराबाजी गरेका छन्।

नीतिगत स्पष्टताको अभावस् चुनावी गठबन्धन गर्ने कि नगर्ने र पार्टीको मार्गचित्र कस्तो हुने भन्नेमा महामन्त्रीद्वयले फरक मत राख्दै आएका छन्। विधानले दिएको समयसीमा कुर्नुभन्दा अगाडि नै नयाँ नेतृत्व चयन गरेर पार्टीलाई पुनर्जीवन दिने इतर पक्षको दाबी छ। महामन्त्री पक्षले यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको वैधानिक बाटो सुरक्षित गरिसकेको दाबी गर्दै आएको छ।

मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६-२८ गतेका लागि १५ औँ महाधिवेशनको मिति तोकेपछि केही समय विवाद शान्त भएको देखिएको थियो। उक्त मिति केवल 'देखाउनका लागि' मात्र भएको आरोप इतर पक्षले लगाउँदै आएको थियो।

उपसमितिहरू गठन

पछिल्लो पटक पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले पुसको कार्यतालिकालाई पर सारेर आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपछि संस्थापन इतर समूह रुष्ट बनेको छ। कार्यतालिका पटक-पटक सर्दा पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने र नेतृत्वले समय लम्ब्याउन खोजेको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई तीव्र पारेका हुन्। विशेष महाधिवेशन पक्षधरहरूले आफ्नो तयारीलाई संगठित बनाउन विभिन्न उप-समितिहरू गठन गरिसकेका छन्।

उनीहरूले देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई आगामी पुस २६ गतेभित्र काठमाडौं आइपुग्न कडा निर्देशन दिएका छन्। सानेपाको मंगलबारको घटनाले दुइ पक्षबीच सम्बन्ध थप तीतो बनाइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad