जेनजी अगुवा रक्षा बमले अहिलेको राजनीतिक संकटबाट निस्कनका लागि नेपाली कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य भएको बताएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले नियमित महाधिवेशनका नाममा यथास्थितिमा नबस्न कांग्रेस नेताहरूलाई आग्रह गरेकी छन्। ‘यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ,’ उनले भनेकी छन्।
नियमित महाधिवेनका नाममा नेकपा (एमाले)को बाटो नरोज्न बमले आग्रह गरेकी छन्। उनले भनेकी छन्, ‘आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ। अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ। हामी त्यो हेर्न पर्खिरहेका छौँ।’
अहिलेको असाधारण अवस्थामा कांग्रेसले असाधारण निर्णय गर्नुपर्नेमा उनले जोड दिएकी छन्। बमले भनेकी छन्, ‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ।’
Shares

प्रतिक्रिया