नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा ७ सिट लिने भएको छ।
एमालेको मंगलबार बिहान बसेको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सिट संख्याको टुंगो लागे पनि कलस्टर पनि टुुंगिन बाँकी रहेको बताए।
‘हरेक प्रदेशमा १ जना पर्नेगरि हामीले ७ जना भनेका छौँ,’ उनले भने, ‘तर, टुंगो के लगोको छैन भने कुन प्रदेशमा, महिला कति र पुरुष कति, कसले लिने।’
यसबारे नेपाली कांग्रेससँग छलफल गरेर निर्णय लिने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भट्टले जानकारी दिए। ‘कसले कति सिट पाउने भन्ने बाँडफाँट भएको छ,’ तर, क्लस्टरवाइज कसलाई कहाँ पर्छ भन्ने टुंगो अझैँ नलागेको हुनाले नेपाली कांग्रेससँग हाम्रो अध्यक्षले छलफल गरेर टुंगो लगाउने अधिकार अध्यक्षलाई दिएको छ।’
राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतसँग तालमेल गरेर जाने निर्णय भइसकेको पनि उनले जानकारी दिए।
‘राष्ट्रिय सभामा संगै जाने भन्ने सहमति भएको छ,’ भट्टले भने, ‘प्रतिनिधि सभाका बारेमा अहिलेसम्म कुनै छलफल भएको छैन।’
Shares

प्रतिक्रिया