आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशका १२ मध्ये ५ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ।
एमाले प्रदेश कमिटीका अनुसार दैलेख-२, सुर्खेतका दुवै क्षेत्र, सल्यान र रुकुम पश्चिममा उम्मेदवारको टुङ्गो लागेको हो। एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहका अनुसार पुस २३ गतेसम्म सबै क्षेत्रबाट सिफारिस प्रदेशसम्म अइपुग्नेछन्।
‘अहिले फट्टफुट्ट नामहरू सिफारिस भएर आएका छन्। २३ गतेसम्म नाम पठाउनु भन्ने पार्टीको निर्देशन छ’, अध्यक्ष शाहले नेपालखबरसँग भने, ‘सबै नाम आएपछि प्रदेशले निर्णय गर्छ।’
उनका अनुसार धेरै ठाउँबाट पुरानै अनुहार दोहोरिएका छन्। केही ठाउँमा आन्तरिक प्रतिस्पर्धाबाट नाम छानिएको छ।
दैलेख-२ मा विष्णु रिजालको उदय
उम्मेदवार चयनका लागि दैलेख-२ मा भने एमालेभित्र रोचक आन्तरिक निर्वाचन भयो। कर्णाली प्रदेशका पूर्वसभामुख राजबहादुर शाही र पूर्व सांसदहरूलाई पछि पार्दै केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालले सबैभन्दा बढी मत पाएका छन्।
पार्टीले रिजाल र लक्ष्मी पोख्रेलको नाम सिफारिस गरे पनि चर्चामा रहेका युवा नेता रिजालको टिकट पाउने सम्भावना बलियो देखिएको छ।
सुर्खेत-१ मा शाही र खड्काको ‘ह्याट्रिक’ भिडन्त
सुर्खेत क्षेत्र नम्बर १ मा एमालेले पुनः अनुभवी नेता ध्रुवकुमार शाहीलाई नै अघि सारेको छ। यहाँ शाहीको प्रतिस्पर्धा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग हुने निश्चित भएको छ।
शाही र खड्काबीच यो तेस्रो प्रतिस्पर्धा हो। २०७४ सालमा शाहीले खड्कालाई पराजित गरेका थिए भने २०७९ सालमा खड्काले शाहीलाई हराउँदै बदला लिएका थिए।
कांग्रेसले खड्काको नाम एकल सिफारिस गरिसकेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जीतबहादुर राना मैदानमा उत्रने तयारीमा छन्।
सुर्खेत-२ र सल्यानमा नयाँ र पुराना दाउ
सुर्खेत क्षेत्र नम्बर २ मा एमालेले जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई पहिलो पटक संसदीय चुनावी मैदानमा उतार्ने भएको छ। उता, सल्यानमा भने प्रदेश अध्यक्ष गुलाबजंग शाह आफैँ प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन्। २०७९ को निर्वाचनमा प्रदेश सभामा पराजित भएका शाह यसपटक संघीय संसद छिर्ने दाउमा छन्।
रुकुम पश्चिममा फेरि देवकोटा
माओवादीको किल्ला मानिने रुकुम पश्चिममा एमालेले पुनः नन्दाराम देवकोटालाई नै अघि सारेको छ। अघिल्लो निर्वाचनमा भारी मतान्तरले पराजित भए पनि पार्टीले उनैलाई विश्वास गरेको छ।
यद्यपि, यहाँ जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेकपाका उम्मेदवारका कारण एमालेलाई थप चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ।
बाँकी ७ क्षेत्रको तयारी के छ?
प्रदेश अध्यक्ष शाहका अनुसार कर्णालीका बाँकी ७ क्षेत्र (कालिकोट, मुगु, जुम्ला, डोल्पा, हुम्ला, जाजरकोट र दैलेख-१) मा उम्मेदवार चयनका लागि छलफल जारी छ। ‘हामीले २३ गतेभित्र सबै नाम केन्द्रमा पठाउने गरी काम गरिरहेका छौँ’, शाहले नेपालखबरसँग भने, ‘आइतबारभित्रै थप ३ जिल्लाको टुङ्गो लाग्नेछ।’
Shares

प्रतिक्रिया