राष्ट्रिय जनमोर्चाले भेनेजुयलामाथि अमेरिकाले गरेको आक्रमण र राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई बन्दी बनाउने कार्यको तीब्र विरोध गरेको छ।
उक्त कार्य अमेरिकी साम्राज्यवादको दादागिरी भएको जनमोर्चाको ठहर छ।
कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले आइतबार एक वक्तव्य प्रकाशित गरी ‘भेनेजुएलाले अमेरिकाले भने अनुसार आफ्नो मुलुकको खनिज र पेट्रोलियम खानीको उपयोगका बारेमा निर्णय गर्न नमानेको बदला वा प्रतिशोध स्वरुप नै अमेरिकाले आक्रमण गरेको’ बताएका छन्।
‘अमेरिकाले भनेअनुसार नगरेकै कारण एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि आक्रमण गरेर त्यहाँको राष्ट्रपतिलाई गिरफ्तार गर्नु सरासर अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको वडापत्रका विरुद्ध रहेको छ’ वक्तव्यमा भनिएको छ, ‘यो सरासर अमेरिकी साम्राज्यवादको दादागिरी हो। अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि आक्रमण गरी त्यहाँको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेप गरेर आफ्नो युद्धपिपासु चरित्र देखाउँदै आएको छ।’
जनमोर्चाले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण गरी निकोलस मदुरो र उनको पत्नीको गिरफ्तारीको घोर विरोध तथा भर्त्सना गर्दै त्यसका विरुद्ध विश्वव्यापी आवाज उठाउन सम्पूर्ण साम्राज्यवाद विरोधी संघ, संस्था, दल तथा व्यक्तित्वलाई अपिल गरेको छ।
Shares

प्रतिक्रिया