राजनीति


देउवाले बोलाएको छलफलमा गगन नजाने, प्रतिवेदन तयार गर्न धुलिखेल जाँदै

देउवाले बोलाएको छलफलमा गगन नजाने, प्रतिवेदन तयार गर्न धुलिखेल जाँदै

नेपालखबर
पुस १७, २०८२ बिहिबार १६:१६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाए पनि महामन्त्री गगन थापा सहभागी नहुने भएका छन्। बरु उनी विशेष महाधिवेशनको प्रतिवेदन तयार गर्न काभ्रेको धुलिखेल जान लागेका छन्। 

महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल जाने तयारीमा छन्। ‘विशेष महाधिवेशनको प्रतिवेशन तयार पार्ने २-४ दिन धुलिखेल जाने पूर्वनिर्धारित तालिका थियो। महामन्त्रीज्यू आजै धुलिखेल जाने तयारीमा हुनुहुन्छ,’ कुइकेलले नेपालखबरसँग भने, ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पारेर मात्र फर्किनुहुन्छ।’ 

यता विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार, पुस २७ र २८ गतेका लागि हल बुकिङ गरिएको छ। 

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। 

गत मंसिर १५ मा केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रुपमा पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय भएको थियो। तर, निर्धारित नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको मुद्दा फेरि चर्किएको छ। 

महाधिवेशनको विवाद चर्किएपछि सभापति देउवाले आज साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्। आज बिहान सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए।

यी पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad