श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको बताएका छन्।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै साम्पाङले असन्तुष्टि व्यक्त गरेका हुन्। मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको उनको भनाइ थियो।
‘बजेट भन्ने वित्तिकै हामीले समस्या हाम्रो के हो, विकास हाम्रो के मा हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्दछ। समस्या भनेको खुट्टामा भएको घाउ। विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता,’ साम्पाङले भने, ‘हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर?’
पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा साम्पाङले आक्रोश व्यक्त गरे।
‘पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै नेपालमा महंगो। त्यसरी डे टु डे चाहिने उपभोग्य सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाईराखेका छैनौँ भन्ने लाग्छ,’ उनले भने।
बजेट वक्तव्यमा सय वटा घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने भन्ने खालको कुरा आउनु आपत्तिजनक भएको उनको भनाइ थियो। सरकार व्यापारी नभई जनतालाई सेवा सुविधा दिने निकाय भएकाले त्यस्तो काम बजेटमार्फत आउन आपत्तिजनक भएको उनले बताए।
Shares

प्रतिक्रिया