सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलको सरकारले ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा बिहीबार बजेटमाथिको छलफलमा बोल्दै उनले बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको बताए।
उनले यो बजेटले युवालाई रोजगारी दिने क्षमता पनि नराख्ने तर्क गरे।
मुलुकमा अहिले डरको माहोल रहेको भन्दै उनले व्यापार गर्ने वातावरण नभएको बताए।
‘यहाँ डरको माहोल छ। डरले शासन चल्ला तर, विकास हुँदैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्यमा ट्याक्स लगाएर विकास हुँदैन। यो संविधानको विपरित भयो।’
‘हामी युवालाई रोजगारी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो? मैले बुझाउने क्षमता राख्दिँन। तर म व्यवहारिक क्षमता राखेको छु। किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ। गरिबले के पायो? कर्मचारीले त पायो २१५ बढेको तलब। तर, कर्मचारी कति प्रतिशत छन्?,’ उनले भने।
बजेटमा सार्वजनिक विद्यालयलाई मजबुत पार्नेतर्फ कुनै ध्यान नदिइएको बताए।
‘हाम्रा अर्थमन्त्री (स्वर्णिम वाग्ले)ले बुढानिलकण्ठ स्कुल पढ्नु भयो, तर सार्वजनिक विद्यालयलाई मजबुद पार्ने कार्यक्रम उहाँले बजेटमा राख्नु भएको छैन। किसानको हितमा पनि बजेट छैन,’ उनले भने।
जेनजी आन्दोलन युवाको विद्रोह भए पनि बजेटले उनीहरुको रोजगारीको सम्भावनालाई सम्बोधन गर्न नसकेको बताए।
‘बजेटबाट गरिबले के पाए?’ उनले प्रश्न गरे, ‘कर्मचारीको तलब २१ प्रतिशत बढ्यो, तर, गरिबले केही पाएनन्। यसरी कसरी मुलुक समृद्ध हुन्छ?’
उनले अहिलेको बजेट फुलेको बेलुन भएको बताए। ‘यो बजेट फुलेको बेलुन हो, हेर्दा ठूलो देखिन्छ। तर, कार्यान्वयन हुँदैन। ऋण लिएर बनाएको बजेट कार्यान्वयन हुँदैन। साढे चार खर्ब आन्तरिक ऋण लिने भन्नु भएको छ, जहाँ पूँजिगत खर्च हुँदैन, त्यो देशको विकास हुँदैन।’
उनले आफ्नो चिन्ता मुसहर, दलित र चेपाङ बस्तीप्रति भएको बताए। बजेटले उनीहरुको भावनाको सम्बोधन नगर्ने उनको तर्क थियो।
‘जुम्लाको स्याउलाई कसरी प्रवर्द्धन गर्ने? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगारी रेमिट्यान्सको भरमा चलिराखेको छ,’ सिंहले भने, Ñसाउथ एसियामा यस्तो कुनै देश नै छैन, जहाँ जीडीपीको ३२(३३ प्रतिशत बजेट बनाइन्छ। यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो। फुकेको बेलुन लामो समय टिक्दैन। यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।’
उनले बजेटले बैंकर्स खुसी भए पनि गरिब जनता खुसी नभएको बताए।
‘बैङ्कमा त्यत्रो निक्षेप किन जम्मा भएको छ? यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन। म संविधानको कुरा गर्न आएको किनभने म संविधानको हस्ताक्षरकर्ता हुँ। संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो। त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, विद्यार्थीलाई लागेको छ,’ उनले भने।
Shares

प्रतिक्रिया