नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने गृहकार्य थालेका छन् भने संस्थापन पक्ष केन्द्रीय कार्यसमितिको म्याद थप्ने रणनीतिमा लागेको छ।
गत मंसिर १५ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन अन्तगर्त पुस १६ मा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। निर्धारित समयमा वडा अधिवेशन नै सुरु नभएपछि महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको गृहकार्य थालेका हुन्।
महामन्त्री थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको भन्दै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताए। ‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो,’ थापाले भने, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।’
विशेष महाधिवेशन पक्षधर पार्टीका केन्द्रीय सदस्य मधु आचार्यले नियमित महाधिवेशनको ‘च्याप्टर क्लोच’ भएको प्रतिक्रिया दिए। अब विशेष महाधिवेशन पुस २८ भित्रै बोलाउने आचार्यको भनाइ छ।
‘नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदा हामीले पार्टीको केन्द्रले भनेको मान्यौँ। पार्टी सभापति र कार्यवाहक सभापतिले हामी नियमित महाधिवेशन गराउँछौँ भन्नुभयो। हामीले त्यसलाई सर्वसम्मतरुपमा पास गरिदिएका हौं। तर, त्यो कार्यतालिका अनुसार अधिवेशनको काम नै हुन सकेन,’ आचार्यले नेपालखबरसँग भने, ‘अब नियमति महाधिवेशनको च्याप्टर क्लोज भएपछि पार्टी केन्द्रले हामीले भनेको मान्नुपर्छ। नियमित महाधिवेशनको मितिमै विशेष महाधिवेशन गराउने दिशामा जान्छौँ।’
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको जिकिर गर्दै त्यसको गृहकार्य भइरहेको आचार्यको भनाइ छ। ‘केन्द्रीय समितिले बोलाएन भने महामन्त्रीले विशेष महाधिवेशन बोलाउनु हुन्छ। महामन्त्रीले बोलाउनु भएन भने हामी नै बोलाउछौँ’, उनले भने।
गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रावधान छ।
कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशन नगर्ने अडानमा रहँदै आएको छ। नियमित महाधिवेशनको कार्यतालिकामा सहमति खोज्दा नै महामन्त्रीद्वयले आसन्न फागुन २१ को निर्वाचनअघि मिति तोकेर जान सहमति जनाएको संस्थापन पक्षका नेताहरूको भनाइ छ।
‘अहिले कार्यतालिका ल्यायौँ। महाधिवेशन गर्न सकिएन भने ठीकै छ भन्ने सहमति भएको हो। महामन्त्रीद्वयले मसँग नै त्यही भनेर सहमति भएको हो’, नियमित महाधिवेशनको कार्यतालिकाको ‘ड्राप्ट’ बनाउनेमध्येका एक नेताले नेपालखबरसँग भने, ‘मुलुक निर्वाचनमा होमिएको वेला अब विशेष महाधिवेशनको रडाको मच्याउनु राम्रो हुँदैन।’
सबै राजनीतिक दलसँगै कांग्रेस पनि निर्वाचनको तयारीमा जुटिसकेकाले अहिले महाधिवेशन गर्न नसकिने संस्थापन पक्षको बुझाइ छ। पुसको अन्तिम सातातिर केन्द्रीय समिति बैठक राखेर वर्तमान कार्यसमितिको म्याद ६ महिना थप्ने संस्थापन पक्षको रणनीति छ। त्यसपछि महाधिवेशन कार्यतालिका संशोधन गरेर आउँदो वैशाखमा महाविधेशन गर्ने योजना छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विशेष महाधिवेशन बोलाउन नहुने स्पस्ट पारिसकेका छन्। उनले नियमित महाधिवेशनमै जोड दिएका थिए। जसले गर्दा गत मंसिरको केन्द्रीय कार्यसमितिको बैठकले पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो।
Shares

प्रतिक्रिया