राजनीति


समानुपातिकमा कांग्रेसको भद्रगोल बन्दसूची, कसरी मिलाउँछ क्लस्टरको रोलक्रम?

समानुपातिकमा कांग्रेसको भद्रगोल बन्दसूची, कसरी मिलाउँछ क्लस्टरको रोलक्रम?

लोकेन्द्र भट्ट
पुस १७, २०८२ बिहिबार ९:२, काठमाडौँ

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्दसूची भद्रगोल ढंगले निर्वाचन आयोगमा बुझाएको छ। ११० जना उम्मेदवारको  बन्दसूची बुझाउँदा कांग्रेसले सात प्रदेशबाट क्रमशः नाम राखेको छ।

निर्वाचन आयोगले छुट्टयाएको आदिवासी–जनजाति, खस–आर्य, थारु, दलित, मधेसी र मुस्लिम क्लस्टर अनुसार कांग्रेसले बन्दसूची बुझाएको छैन।

कांग्रेसले प्रदेशगत रूपमै क्लस्टर अनुसार उम्मेदवार तय गरे पनि क्रमबद्ध नगरी निर्वाचन आयोगमा बुझाएको हाे।

क्लस्टरको रुलक्रममा क–कसलाई अगाडि राख्ने भन्नेमा कुरा नमिलेपछि कांग्रेसले प्रदेशगत सूची बुझाएको कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। यद्यपि कांग्रेसले रोलक्रमबारे मापदण्ड भने बनाएको छ। 

मापदण्ड अनुसार पार्टी पदाधिकारी समानुपातिकमा बस्दा क्लस्टरको पहिलो नम्बरमा राखिने छ भने त्यसपछि केन्द्रीय सदस्यलाई प्राथमिकता दिइएको छ। यो मापदण्ड अनुसार पनि कांग्रेसलाई समानुपातिक उम्मेदवारको बन्दसूची क्लस्टरको रोलक्रम मिलाउन पुस १४ मा सम्भव भएन। भद्रगोल रुपमा बुझाएको बन्दसूचीमा परेको केही नामको चर्को विरोध भइरहेको छ। 

कांग्रेसका नेता अर्जुननरसिंह केसी, सहमहामन्त्री भीष्मराज आङदम्बे, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, नेता बलहादुर केसीकी पत्नी रिना उप्रेती, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेललाई उम्मेदवारी बनाएकोमा कांग्रेसवृत्तमा प्रश्न उठेको छ।

पार्टीबाट पटक–पटक अवसर लिएका नेता र नेताका आफन्त नै समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएपछि कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

समानुपातिक उम्मेदवारमा कांग्रेसमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबिच ६० –४० को भागबण्डा भएकाले विवादित नाम सच्याउन कांग्रेस तयार देखिएको छैन। उक्त भागबण्डामा पनि क्लस्टरको रोलक्रममा कुन पक्षबाट बढी उम्मेदवार अगाडि राख्ने भन्नेमा कांग्रेसमा खिचातानी बढी छ।

क्लस्टको पुरुषतर्फ २ नम्बरभन्दा तलको नाम भएको उम्मेदवार सांसद भन्ने सम्भावना न्यून हुन्छ । गत निर्वाचनमा क्लस्टरको पहिलो नम्बरमै बसेका गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुर, केन्द्रीय सदस्य योगेन्द्र चौधरी नै सांसद बन्न बन्चित भएका थिए। विगतमा प्रमुख पार्टीहरुले पाएको समानुपातिक मतको अनुपातमा क्लस्टरको महिलातर्फ पनि ३ देखि ४ नम्बरभित्र मात्रै उम्मेदवार सांसद बन्ने गरेका थिए। 

पुस २२ गतेसम्म बन्दसूचीलाई क्लस्टर अनुसार क्रमबद्ध गर्ने कांग्रेस नेता मीनबहादुर बिश्वकर्माले बताए। निर्वाचन आयोगले  पुस २१ गतेदेखि २७ गतेसम्म सूची सच्याएर पुनः पेश गर्न समय दिएको छ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘पुस २७ सम्म क्लस्टरको रोलक्रम अनुसारको बन्दसूची बुझाउँछौं। केही नाम तल–माथि पनि हुन्छन्। अहिलेको सूचीमा नरहेकाहरु पनि सूचीमा पर्न सक्छन्। केही परेका पनि आउट हुन सक्छन्।’ 

यता निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन आयोगले मंगलबारदेखि नै एउटा कार्यदल बनाएर दलहले बुझाएका सूची मिले नमिलेको रुजु गर्न सुरु गरिसकेको बताए।

‘समानुपातिकका समूहगत रुपमा मिल्यो कि मिलेन भनेर यो कार्यदलले हेरिरहेको छ। आयोगले २० गतेसम्म दलहरुले बुझाएका सूची मिले नमिलेको निश्च्ति गरिसक्ने छ। २० गते निर्वाचन आयोगले कुन दलको के मिलेर भनेर जानकारी दिनेछ।’ 

दलहरुले २१ गतेदेखि २७ गतेसम्म सूची सच्याएर पुनः पेश गर्न पाउने उनको भनाइ छ । ‘कुनै क्लस्टरमा संख्या अपुग भए थप्न र बढी भए हटाउन पनि दलहरुले पाउनेछन्। त्यसपछि पनि समानुपातिक उम्मेदवारले चाहेमा वा दलहरुले चाहेमा पनि फिर्ता गर्न पाउनेछन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad