राजनीति


नयाँ शक्तिहरूमा जेलेन्स्की प्रवृत्ति देखिरहेको छु : कमल थापा

नयाँ शक्तिहरूमा जेलेन्स्की प्रवृत्ति देखिरहेको छु : कमल थापा

नेपालखबर
पुस १६, २०८२ बुधबार १५:४८, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ उदाएका शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की प्रवृत्ति देखिरहेको बताएका छन्। 

राप्रपा र राप्रपा नेपालबीच सोमबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले जेलेन्स्की प्रवृत्तिबाट बच्नुपर्ने बताए। ‘अहिलेसम्मका घटना क्रम हेर्ने हो भने नयाँ उदयमान शक्तिहरूमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु,’ थापाले भने, ‘चर्काचर्का नारा दिएर लोप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र अनि मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृत्ति देखिएको छ।’

कला क्षेत्रबाट उदाएका युक्रेनी राष्ट्रपति जेलेन्स्की हास्यकलाकार हुन्। उनी हास्यकलाबाट लोकप्रिय हुँदै राजनीतिमा आएका थिए। उनी राष्ट्रपति भएपछि युक्रेनले रूससँग युद्ध खेपिरहेको छ। थापाले त्यसैलाई इंगित गर्दै अहिलेका नयाँ शक्तिहरूबाट सचेत रहन आग्रह गरेका हुन्। 

रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र रास्वपाको उपसभापति कुलमान घिसिङले सच्चिनुपर्ने उनको भनाइ थियो। उनीहरू विचारविहीन भएको थापाको टिप्पणी थियो। 

‘कुनै वैचारिक धरातल छैन, कुनै एजेन्डा छैन,’ थापाले भने, ‘रवि, बालेन, कुलमानभन्दा ओली, देउवा र प्रचण्ड कम क्रान्तिकारी थिएनन। तर, अवधारण, संरचनागत र नीतिगत परिवर्त नगर्ने हो भने ओली, देउवा र प्रचण्डलाई यो अवस्थामा आउन २० वर्ष लाग्यो, नयाँ प्रवृत्तिलाई पाँच वर्ष पनि लाग्दैन।’

जेनजी आन्दोलनको एजेन्डा अपरहण गरिएको उनको आरोप थियो। जेनजी आन्दोलन एकाएक नआएको उनको जिकिर थियो। ‘हामीले तयार गरेको जनचेतना र जनजागरणको जगमा जेनजी आन्दोलन भएको हो। तर सकिन पाउँदानपाउँदै मध्य रातमा देशी विदेशी शक्तिले आन्दोलनले मुखरित गरेको एजेन्डलाई अपरहण गरे,’ थापाले भने, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई जोगाइयो। ’

उनले राप्रपा र राप्रपा नेपालबीच एकताको उद्देश्य दुई वटा रहेको बताए। ‘एकताको पहिलो उद्देश्य हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा हो। दोस्रो, भ्रष्ट शासन र व्यवस्थाबाट देश र जनतालाई मुक्ति हो,’ थापाले भने, ‘त्यसका लागि आन्दोलन गर्नुपर्छ। आन्दोलनबाहेक अर्को विकल्प छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad