आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन्।
हरेक दलले समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायका व्यक्तिलाई पनि समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटेका छन्।
यसैबीच दिनेश प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी (गलाेपा) ले पनि ११ समानुपातिक उम्मेदवारमा एकजना दलित पारेको छ।
उक्त पार्टीको समानुपातिक बन्दसूचीमा दलित समुदायबाट सामाजिक अभियन्ता गीता केसी दर्नालको नाम छ।
दर्नाल साझा सहयात्री संस्थामार्फत यौन हिंसामा परेका बालिकाहरूको पालनपोषण गरिरहेकी छन्।
उनले बलात्कार, यौन हिंसामा परेका बालिकाहरूलाई खाना, लुगा, विद्यालय शिक्षा, उपचार, माया र आत्मसम्मान प्रदान गरिरहेकी छन्।
गलाेपाका अध्यक्ष प्रसाईंले आफ्नो पार्टीले दलितसहित आदिवासी, जनजाति, महिला र अल्पसंख्यक समुदायलाई प्राथमिकता दिएको बताए।
उनका अनुसार समानुपातिक उम्मेदवारमा दर्नालसहित करुणा डुम्जन, रेजिना गुरुङ, नगमा खरेल, अल्का सापकोटा, दीर्घबहादुर खड्का, शैली चौधरी, अनामिका चौधरी, रुबी खातुन र निशा राजवंशी पनि छन्।
अध्यक्ष प्रसाईँ भन्छन्, ‘हाम्रो सूचीमा सेलेब्रिटीहरू छैनन्, समाजमा संघर्ष गरेका आम नागरिकलाई स्थान दिएका छौँ।’
Shares

प्रतिक्रिया