कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३÷८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न मन्त्रालयहरूसँग छलफल सुरु गर्दै छ।
कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ।
मन्त्री वादीसँग अपराह्न ३ बजे र भूमिमन्त्री रावलसँग अपराह्न ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ। मन्त्रीहरूसँग के(के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने बताइएको छ।
विधायन ऐनअनुसार, हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेश गर्ने विधेयकको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ। यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेश गर्नुपर्छ।

प्रतिक्रिया