राजनीति


कांग्रेसको समानुपातिक सूचीमा नयाँलाई मौका, कसैलाई दोहोर्‍याएन

कांग्रेसको समानुपातिक सूचीमा नयाँलाई मौका, कसैलाई दोहोर्‍याएन

नेपालखबर
पुस १४, २०८२ सोमबार १७:१३, काठमाडौँ

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपाकित उम्मेदवारमा नयाँलाई मौका दिएको छ। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। आजको बैठकले ११० जना समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए। 

‘समानुपातिकका लागि ११० जनाको नाम पठाउने निर्णय गरेका छौँ। केन्द्रीय कार्यसम्पादन समितिले सर्वसम्मत रुपमा निर्णय गरेको छ’, कार्यसम्पादन समितिले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. महतले भने।

कांग्रेसको समानुपातिक सूचीमा नयाँलाई राखिएको महतले बताए। ‘संविधान सभादेखि लिएर अहिलेसम्म समानुपातिक सूचीमा निर्वाचित भएकाहरूलाई अहिले समानुपातिक सूचीमा समावेश गरिएको छैन,’ उनले भने। 

संविधान सभाको पहिलो निर्वाचन २०६४ सालमा भएको थियो। त्यसयता सबै निर्वाचनमा समानुपातिकमा परेकालाई अहिले सूचीमा नराखिएको उनको भनाइ थियो। 

अहिलेसम्म अवसर नपाएका पुराना नेता तथा कार्यकर्तालाई पनि समानुपातिकमा राखिएको उनले जानकारी दिए। ‘युवा छन्। पुराना, योगदान गरेका र अवसर नपाएका साथी छन्,’ प्रवक्ता महतले भने, ‘पहिले समानुपातिकमा अवसर पाएकालाई सूचीमा राखेका छैनौँ, त्यसैले धेरै नयाँ छन्।’

कांग्रेसको सूचीमा पदाधिकारी र केन्द्रीय सदस्य पनि परेका छन्। पदाधिकारीबाट सहमहामन्त्री भीष्म आङ्देम्बे परेको प्रवक्ता महतले बताए। ‘केन्द्रीय कार्यसमितिका पनि समानुपातिक सूचीमा गएका छन, तर पहिले नभएका मात्रै छन्,’ उनले भने, ‘सामाजिक, बौद्धिक क्षेत्रको प्रतिनिधित्व गराएका छौँ।’

समानुपातिक सूचीमा सबै जिल्लालाई समेट्ने कोसिस गरिएको प्रवक्ता महतले बताए। बन्दसूची भएकाले निर्वाचन आयोगले सार्वजनिक गर्नुअघि को को परे भनेर बताउन नमिल्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad