राजनीति


जब दलीय राजनीतिमा आए, कालो चस्माबाहिर निस्किए बालेन

जब दलीय राजनीतिमा आए, कालो चस्माबाहिर निस्किए बालेन

काठमाडौँको मेयर भएपछि कालो चस्मामा र बिहीबार राजनीतिक भेटघाटका क्रममा चस्माविना बालेन साह।


लक्ष्मी बलायर
पुस ११, २०८२ शुक्रबार १९:२६, काठमाडौँ

र्‍यापर बालेन शाहले सांगीतिक क्षेत्रमा राम्रै नाम कमाएका थिए। तर, झण्डै चार वर्षअघि जब उनी राजनीतिमा प्रवेश गरे, हरेकको मुखमा उनको नाम झुण्डिन पुग्यो। काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका उनले चिया पसलदेखि सञ्चारमाध्यमसम्मको ध्यान आकृष्ट गरे।

त्यतिबेला बालेन मात्रै चर्चामा आएनन्, उनको कालो चस्माबारे पनि अनेक टीकाटिप्पणी भए। बाक्लो दाह्री, कालो कोट, त्यसमाथि कालै चस्मा। उनको ‘ड्यासिङ लुक्स’ धेरैले मन पराए।

सार्वजनिक रुपमा जहाँसुकै पुग्दा पनि बालेनको नजर कालो चस्मापछाडि नै लुकेको हुन्थ्यो। त्यसैले उनले लगाएको चस्मा उनको पहिचान नै बनिदियो। यतिसम्म कि धेरैले ‘बालेन चस्मा’ भन्दै बजारमा खोज्न थाले। त्यसपछि उनले लगाउने जस्तो चस्माको माग बढेको थियो।

चुनावताका बालेन सोही चस्मा लगाएर प्रचारप्रसार हिँडेका थिए। धेरैको मन जितेका उनले २०७९ सालको स्थानीय चुनाव सहजै जिते र मेयर पनि बने।

मेयर बने पनि बालेन बाहिर खासै खुलेनन्। न उनले कुनै अन्तर्वार्ता दिए, न त बाहिरका कार्यक्रममा झुल्किए। केही अभिव्यक्ति दिन परे उनले फेसबुकमै स्टाटस लेख्थे। त्यो पनि अत्यन्त उग्र। थुप्रैले उनको गैरराजनीतिक भन्दै उनको आलोचना गरे।

गत स्थानीय तहको निर्वाचनमा मतदातासँग चुनावी घरदैलोको क्रममा मेयर बालेन्द्र साह।

तथापि, महानगरको कार्यालय जाँदा होस् वा कुनै सभा/कार्यक्रममा, उनको त्यो चस्मा भने कहिल्यै छुटेन। कतिपयले त उनको चस्माप्रतिको लगावलाई पनि निसाना बनाए, ‘यो अपारदर्शिताको द्योतक हो।’

तर, पछिल्लो समय अवस्था फेरिएको छ। जेनजी आन्दोलनसँगै देशमा नयाँ सरकार छ। सरकारले फागुन २१ गतेका लागि निर्वाचनको घोषणा गरिसकेको छ। चुनाव नजिकिँदै जाँदा नेताहरू दौडधुपमा छन्। पुराना दलहरूलाई विस्थापित गर्न चाहेका शक्तिहरू पनि एकत्रित हुने कोसिस गर्दैछन्।

र, खासै नबोल्ने बालेन पनि एकाएक चुनावको तयारीमा लागेका छन्। यतिखेर उनी विभिन्न पार्टीदेखि जेनजी अगुवाहरूसँग घण्टौँ छलफल गरिरहेका छन्। रवि लामिछाने, कुलमान घिसिङदेखि जेनजी प्रतिनिधिसँग समेत उनको छलफल जारी छ।

ज्वागलमा भेट्न आएका जेनजीहरूलाई उनले आफू राजनीतिमा आएको जनाउ दिँदै सबैसँग सहयोग मागे। रास्वपासँग एकताको अन्तिम चरणमा पुगेको खबर बाहिरिएका छन्।

तर, रोचक कुरा के छ भने अहिले बालेन चस्माबिनै देखिन थालेका छन्। पछिल्ला सार्वजनिक फोटो/भिडिओमा बालेनको त्यो भाइरल चस्मा देखिँदैन। सोमबार रवि लामिछानेसँगको भेटदेखि नै उनी चस्माबाहिर निस्केका हुन्।

हुन त झण्डै एक महिनाअघि मात्रै बालेनले पिता गुमाएका थिए। त्यही कारण पनि उनले चस्मा नलगाएका हुन सक्छन्। तर, केही दिनअघि महानगरको कार्यक्रममा उनी चस्मा लगाएरै पुगेका थिए।

शुक्रबार कामठाडौँ महानगरपालिकाको नगर सभामा बालेन साह। तस्बिर : सरोज शाही/नेपालखबर

दलीय राजनीतिमा सामेल भएको संकेत गरेसँगै चस्मा फुकाले उनले त्यसयताका सार्वजनिक कार्यक्रममा पनि चस्मा लगाएका छैनन्। शुक्रबार काठमाडौँ महानगरपालिकाको नगर सभामा पनि कालो चस्माविना नै देखिएका छन्। 

त्यसैले बालेनले दलीय राजनीतिमा होमिने तयारी गर्नु र उनले कालो चस्मा खोल्नुमा रोचक संयोग देखिन्छ। कतिपयले त भन्न पनि थालेका छन्, ‘राजनीतिले उतारिदियो बालेनको कालो चस्मा!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad