सत्तारुढ नेकपामा आफ्ना सबै माग अलपत्र परेपछि असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि सरेका छन्।
प्रचण्डले आइतबार नेता नेपाल र उनीनिकट स्थायी समिति सदस्यहरुलाई छुट्टाछुट्टै भेटेर आश्वस्त तुल्याउने प्रयास गरे।
सत्तारुढ नेकपाभित्र चर्किंदै गएको विवाद प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड नजिकिएसँगै सामसुम भएपछि नेपाल पक्ष असन्तुष्ट छ।
शनिबारको सचिवालयको बैठकअघि ओली र प्रचण्डले करिब आधा घण्टा वार्ता गरेर नेकपाको पछिल्लो विवादलाई टुंग्याएका थिए।
प्रचण्ड–नेपाल पक्षले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने, पार्टीलाई विधि–पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए।
तर, सचिवालय बैठकमा अध्यक्ष र सरकार प्रमुख भएकाले कमीकमजोरीको जिम्मेवारी आफूले लिने बताउँदै ओलीले आत्मलोचना गरेपछि राजीनामाको विषय सेलाएको थियो। केही दिनअघिसम्म सचिवालयमा अल्पमतमा रहेका ओली शनिबारको बैठकपछि एकाएक बलियो देखिए।
नेपालले बैठकमै यसप्रति असन्तुष्टि जाहेर गरेका थिए।
‘दुईजना अध्यक्षको चोचोमोचो मिल्दैमा पार्टीमा रहेका समस्या समाधान हुँदैन,’ उनले भनेका थिए।
नेता नेपालले लामो समयदेखि एक व्यक्ति एक पदको व्यवस्था लागू गरिनुपर्ने बताउँदै आएका छन्। हाल पार्टीमा प्रधानमन्त्री ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले दोहोरो भूमिका पाएका छन्।
आइतबार दिउँसो अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित निवासमै पुगेर नेता नेपाललाई आश्वस्त तुल्याउने प्रयास गरे।
‘उहाँहरुबीच समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको हो,’ नेपालनिकट एक नेताले आइतबारको प्रचण्ड–नेपाल भेटबारे भने, ‘आगामी दिनमा बस्ने सचिवालय बैठक र स्थायी समिति बैठकका विषयमा कुराकानी भयो।’
आइतबार बिहान नेपालनिकट स्थायी समितिका नेताहरुलाई पनि आफ्नै निवास खुमलटार बोलाएर प्रचण्डले छलफल गरेका थिए। नेपाल समूहका भीम रावल र सुरेन्द्र पाण्डे प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
त्यस्तै प्रचण्डनिकट स्थायी समिति सदस्यहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुसाल र देवेन्द्र पौडेल पनि छलफलमा सहभागी थिए।
सुरुमा प्रचण्डले सचिवालय बैठकका बारेमा ब्रिफिङ गरेका थिए।
‘तत्कालका लागि पार्टीभित्र देखिएका विवादहरु मत्थर भएका छन्,’ प्रचण्डको भनाइ उधृत गर्दै भेटमा सहभागी एक स्थायी समिति सदस्यले भने, ‘तर, समस्या टरेको हो, निकास निस्केको होइन। स्थायी समिति बैठक बसेर बाँकी निर्णय हुन्छ।’
नौ सदस्यीय सचिवालयमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले यसपटक निकै मिहिनेत गरेर प्रचण्ड–नेपाल गठबन्धन भत्काएर आफ्नो पक्षमा बुहमत सावित गर्न सफल भएका छन्।
आफूलाई प्रधानमन्त्रीमा कायम राख्ने सर्तमा उनले कहिले नेपाललाई पार्टी अध्यक्ष बनाउने, कहिले गौतमलाई प्रधानमन्त्री बनाउने त कहिले प्रचण्डलाई एकल अध्यक्ष बनाउनेजस्ता प्रस्ताव अघि सारेका थिए।
भैँसेपाटी गठबन्धन कायम राख्ने प्रचण्ड प्रयास
अध्यादेश प्रकरणपछि नेकपा सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा भेला भएर प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धन गरेका थिए। तर, शनिबारको बैठकमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने र उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय भएसँगै गठबन्धन टुटेको छ।
तर, प्रचण्डले सो गठबन्धन कायम राख्ने प्रयास गरिरहेको उनी निकट एक नेताले बताए। त्यसैका लागि प्रचण्डले नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग नियमित संवाद जारी राखेको उनको दाबी छ।
‘गठबन्धनका नेताहरु एकताबद्ध हुनुहुन्छ। अध्यक्ष प्रचण्डले यसलाई भत्किन दिनुहुन्न’, ती स्थायी समिति सदस्यले भने, ‘स्थायी समिति बैठकमा पनि साझा धारणा बनाएर प्रस्तुत हुने योजना छ।’
प्रचण्डकै जोडबलमा स्थायी समिति बैठक बोलाइएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।
‘प्रधानमन्त्री ओली पार्टीको बैठकमा रुचि राख्नुहुन्न, उहाँलाई पार्टीका बैठक, भेला, छलफल मन पर्दैन रहेछ,’ गजुरेलले भने, ‘स्थायी समितिको बैठक राख्दै नराख्न उहाँले धेरै बल गर्नुभयो। तर, प्रचण्डले मान्नुभएन।’
नेकपाले वैशाख २५ गते स्थायी समिति बैठक डाकेको छ।

प्रतिक्रिया