काठमाडौं महानगरको वडा नं १५ ले दैनिक औसतमा १७ सय ५० व्यक्तिलाई खाना खुवाइरहेको छ। यस अघि ४ ठाउँबाट सामुहिक मेस चलेकोमा आजबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामुहिक खाना खुवाउने प्रबन्ध गरेको छ।
कोरोना संक्रमणबाट हुन सक्ने महामारी रोक्न सरकारले गरेको लडकडाउनका समयमा दैनिक खाना खान समस्या पर्नेहरुलाई लक्षित समूह बनाएर चैत्र २९ गते स्वयम्भू भुइँखेलबाट खाना खुवाउने काम शुरु गरिएको हो। यस ठाउँबाट अहिले पनि औसतमा दैनिक ६०० व्यक्तिले खाना प्राप्त गरिरहेका छन्। यससँगै बुद्धपार्कबाट दैनिक ३५० जनालाई, चमतीबाट ४०० जनालाई खाना खुवाइँदै आएको छ।
वडाको श्रोतमा स्थानीय दाताहरुले उपलब्ध गराएको सामाग्री मिलाएर सञ्चालन भइरहेको सामुहिक मेसको आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य र संघीय संसद सदस्य जीवनराम श्रेष्ठले निरीक्षण गरे। भुइँखेलबाट शुरु गरिएको निरीक्षण बुद्ध पार्क, अन्नपूर्ण चोक र जर्मन क्वाटर पुग्यो।
महानगरका अन्य वडाहरुले पनि सामुहिक भोजनको व्यवस्था गरेका छन्। महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालका अनुसार आजसम्ममा १ लाख बढी मानिसहरुलाई खाना खुवाइसकिएको छ। त्यस्तै ८५ हजार जनाभन्दा बढीलाई राहत सामाग्री उपलब्ध गराइसकिएको छ।

प्रतिक्रिया