राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत र कुवेतमा नेपालीहरु समस्यामा परेका भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।
अध्यक्ष केसीले आइतबार वक्तव्य प्रकाशित गरी भारत सरकारले आफ्ना नागरिकलाई सम्बन्धित राज्यहरुमा पुर्याउने काम गरिरहेको र सँगै भारतमा रहेका नेपाली नागरिकलाई पनि अब खान बस्नको व्यवस्था नगरी नेपाल सीमासम्म पुर्याउन थालेको भन्दै उनीहरुलाई घर ल्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
‘सरकारले यात भारत सरकारसित उच्च कुटनीतिक सम्पर्क गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार उनीहरुलाई उनीहरु बसेकै ठाउँमा खानपीन समेतको व्यवस्था गर्न लगाउनु पर्दछ। त्यसो हुन नसकेमा ती नेपालीहरुको उद्धारगरी नेपालमा ल्याउनु पर्दछ’ केसीले भनेका छन्।
यस्तै, कुवेतले पनि त्यहाँस्थित नेपालीलाई घर फर्काउन थालेको र त्यसका लागि करिब ५ हजार नेपाली क्याम्पमा प्रतिक्षारत रहेको केसीले जानकारी दिएका छन्।
कुवेतमा कोरोना भाइरस वा लकडाउन सामान्य भएपछि त्यहाँको सरकारले सरकारी खर्चमा नै नेपाल पठाउने सूचना दिएको भन्दै अहिले तत्काल नभए पनि ढिलो छिटो उनीहरुलाई नेपाल ल्याउनुको कुनै विकल्प नरहेको केसीले जनाएका छन्।
अध्यक्ष केसीले भारत र कुवेतकै जस्तो अवस्था अब विश्वभर हुन सक्ने भन्दै नेपालीहरुको व्यबस्थापन र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया